प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलले डेढ करोड बढी कित्ता शेयर बिक्री गर्दै
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन २९ गतेदेखि डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरीदका लागि जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।
शेयर खरीद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको शंखमुल–नयाँबानेश्वर, विर्तामोड, हनुमानदास रोड, जनकपुरधाम, आदर्शनगर, हेटौंडा, नारायणगढ, न्यूरोड–पोखरा, मिलनचोक, बाग्लुङ्ग बजार, त्रिभुवन चोक, विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा भदौ ६ गते कार्यालय समयभित्र आवेदन पेश गर्नु पर्नेछ । आवेदन फाराम पनि सोही स्थानमा पाइँनेछ ।