अग्रवालको नेपाल फाइनान्स र पौडेलको हाथवेमा चलखेल, बजार कृत्रिम बढाउनेमाथि छानबिन हुनुपर्छः सिहं
काठमाडौँ । सांसद अमरेश कुमार सिंहले केहि सीमित ब्यक्तिले शेयर बजारलाई कृत्रिम रुपमा बढाएर आम लगानीकर्ताको अर्बौ रकम गुमराहमा पारेका बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले इन्भेस्टर र शेयर ब्रोकरले सिन्डिकेट गरेर कृत्रिम रूपमा बजार बढाएर स–साना लगानीकर्ताहरूलाई ठगि गर्ने काम भइरहेको बताएका हुन् ।
जनताको रक्षक नेपाल सरकारको उदाशिनताले शेयर बजारमा सोझा लगानीकर्ताले रकम डुब्ने अवस्था आएको बताउँदै छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले भने, ‘शेयर बजारलाई कृत्रिम रुपमा बढाएर साना लगानीकर्ताको रकम डुब्ने अवस्था आएको छ । जनताको रक्षक सरकार हो । यस विषयमा विशेष ध्यान दिई शेयर मूल्य कृत्रिम रुपमा बढाएर साना लगानीकर्ता गुमहरामा पार्ने विषयमा छानबिन हुनु जरुरी छ ।’
इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कमजोर वित्तीय अवस्था रहेका कम्पनीहरूको मूल्य कृत्रिम रूपमा बढाएर ठगि गरी रहेको उनलको तर्क छ । उनले दीपेन्द्र अग्रवाल र अम्बिका पौडेलको कम्पनीको अस्वभाविक वृद्धि माथि समेत प्रश्न उठाए । ‘दीपेन्द्र अग्रवालको नेपाल फाइनान्स लिमिटेडको एक महिनाअघि सेयरको मूल्य जम्मा ६०० रुपैयाँ रहेको थियो । तर, एक महिनापछि २१ सय ५४ रुपैयाँ भयो । यसको बुक भ्यालु १ सय ३४ रुपैयाँ छ । प्राइस र अर्निङ रेसियो हेर्दा कहाँबाट के–कारणले यो बढ्यो?’ उनले भने ।
साथै, उनले अम्बिका पौडेलको हाथवे इन्टरनेसनल नेपाल लिमिटेडको शेयर मूल्य ३ सय रुपैयाँ रहेकोमा अहिले १६ सय रुपैयाँ पुगेको र यसको बुक भ्यालु ७७ रुपैयाँ मात्र रहेको बताए । सिंहले भने, ‘अम्बिका पौडेलको हाथवे इन्टरनेसनल नेपाल लिमिटेडको मूल्य केहि समय अघि ३ सय रुपैयाँ रहेको थियो । तर अहिले १६ सय रुपैयाँ छ । जसको बुक भ्यालु ७७ रुपैयाँ छ । अम्बिका नेपाली सेयर बजारका ठुला कारोबारीका रूपमा परिचित समेत छन् ।’
सन्दीप जलानको एनआरएन इन्फ्रास्ट्रकर एन्ड डेभलप्मेन्ट लिमिटेडको सेयर मूल्य ३ सय रुपैयाँबाट बढेर १ हजार ५० रुपैयाँ पुगेको र यसको बुक भ्यालु १ सय ४७ रुपैयाँ रहेको, अनिल रुगंटाको सीडीएन हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको सेयर मूल्य ६५० रुपैयाँ रहेकोमा अहिले १८ सय रुपैयाँ रहेको र यसको बुक भ्यालु जम्मा १७० रुपैयाँ रहेको बताए ।
सामाजिक सञ्जाल मार्फत सोझा लगानीकर्ता फसाउने काम भइरहेको सिंहको भनाइ छ । ‘शेयर बजार अस्वभिक रुपमा किन वृद्धि हुन्छ भन्दा इन्भेस्टर र शेयर ब्रोकरको सिन्डिकेटलाई मोडस अपरेन्डीका रूपमा प्रयोग गरेर । अनलाइन क्लब हाउसबाट सर्वसाधारणलाई गुहमरा गर्छ । सोसल मिडियाबाट प्रोपोगान्डा गराएर कर्नरिङ गर्ने काम गर्छन्’ उनले भने ।