प्राइम कमर्सियल बैंकको नाफासहितका वित्तीय सूचकहरुमा बृद्धि, लाभांश क्षमता कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार बैंकका अधिकांश वित्तीय सूचकहरुमा लोभलाग्दो प्रगती देखिएको छ ।
समीक्षा अवधिमा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २६७.१९ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
यस अवधीमा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेको छ ।
समीक्षा अवधीमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकको गत वर्ष लाभांश वितरण गर्ने क्षमता ६.१८ प्रतिशतसम्म रहेको देखिन्छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १४.१५ रुपैयाँ बढेर १९.४५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५०.४१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप २१.३६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ र कर्जा १८.५८ प्रतिशत बढेर १ खर्ब ८१ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।