सानिमा बैंकको नाफा २ अर्ब ३८ करोड रुपैयाँ माथि, ईपीएस कति?

२१ श्रावण २०८१, सोमबार ०९:००

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलव ७३ प्रतिशतले कम हो, अघिल्लो वर्ष बैंकले २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४७ करोड ८६ लाख रुपैयाँबाट घटेर ६ अर्ब १७ करोड ८० लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३ दशमलव ५७ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ७ अर्ब ६५ करोड १८ लाख रुपैयाँ थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ४१ दशमलव ९० प्रतिशतले बढेर १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यससँगै बैंकको सञ्चालन नाफा ८ दशमलव ७३ प्रतिशतले घटेर ३ अर्ब ४४ करोड १२ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको थियो ।

गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी २ दशमलव ५५ प्रतिशतले घटेर ६ अर्ब ४३ करोड रुपैयाँमाथि पुगेको छ । वितरणयोग्य नाफा ३६ दशमलव २४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख रुपैयाँमा झरेको छ । गत वर्ष बैंकको खराब कर्जा ० दशमलव ४२ प्रतिशतले बढेर १ दशमलव ७३ प्रतिशत पुगेको छ भने आधारदर २ दशमलव ३२ प्रतिशतले घटेर ७ दशमलव ८३ प्रतिशत कायम भएको छ ।

गत वर्ष बैंकको ईपीएस ३ रुपैयाँ ३७ पैसाले घटेर १७ रुपैयाँ ५४ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ३५ पैसा रहेको छ । गत वर्ष बैंकको चुक्ता पूँजी ९ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २६ दशमलव ९० प्रतिशतले बढेर ५ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकले गत वर्ष ग्राहकमा कर्जा प्रवाह ९ दशलमव ६७ प्रतिशतले बढाएर १ खर्ब ५९ अर्ब ४९ करोड १३ लाख रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन १२ दशमलव २१ प्रतिशतले बढाएर १ खर्ब ९७ अर्ब १९ करोड ७० लाख रुपैयाँ पुर्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*