दुई करोड बीमा दावी लिन आफ्नै पसलमा आगो झोसे, पसल खरानी भएको चार दिनपछि सञ्चालक पक्राउ

२० श्रावण २०८१, आईतवार २२:०१

काठमाडौं । यही साउन १६ गते बुधबार विहान अन्दाजी दुई बजेतिर गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य बजार न्यूरोडस्थित मुक्तिनाथ शपिङ सेन्टरमा भिषण आगोलागी भयो । एक्कासी लागेको आगो करिब एक घण्टापछि मात्रै नियन्त्रणमा आयो । उक्त अवधीमा आगोले स्याङ्जा आँधीखोला ४ स्थायी घर भएका सुजन गहतराजले सञ्चालन गरेको उक्त मार्ट पूर्ण रुपमा जलेर नष्ट भयो । घट्ना भएको चार दिनपछि प्रहरीले दुई करोड रुपैयाँ बीमा दावी रकम लिन आफ्नै पसलमा आगो लगाएको तथ्य प्रमाण फेला परेपछि पसल सञ्जालक गहतराजसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माले बीमा दावी भुक्तानी लिन आफ्नै पसलमा आगो लगाउने गहतराज पक्राउ गरेको पुष्टि गर्दै प्रहरीले थप अनुसन्धान पश्चात उक्त घट्नाका सबै दोषीहरुलाई कानुनी दायरामा ल्याउने बताए । डिएसपी शर्माले पसल सञ्चालकले आगो लागेकै भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा बीमा दावी भुक्तानीको प्रक्रिया पूरा गर्न प्रहरी प्रतिवेदन माग गर्दै निवेदन दर्ता गराएका थिए । प्रहरीले छानविनको क्रममा पसलमा आगो लगाउने कार्यमा सञ्चालक स्वयम् संलग्न रहेको सिसीटिभी फुटेज समेत भेटिएपछि आज पक्राउ गरेको हो ।

पछिल्लो समय निर्जीवन बीमामा पनि बीमा दावी लिन आफ्नै पसल तथा व्यवसाय बिगार्ने र बीमा कम्पनीबाट क्षतिपूर्ति लिने क्रम बढ्दै गइरहेको छ । यसअघि चितवनमा घटेको सुन पसल लूटपाट काण्ड सेलाउन नपाउँदै अर्को बीमा ठगी सम्बन्धी अपराध हुन पुगेको छ । जसले सिंगो निर्जीवन बीमा क्षेत्रको बीमा दावी भुक्तानी थप जटिल तथा चुनौतिपूर्ण बनाइदिएको छ ।

सुजनले गत असार १५ गते मात्रै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको न्यूरोड पोखरा शाखाबाट बीमा गरेको तथ्य खुल्यो । प्रहरीका अनुसार इन्भर्टरबाट आगोलागी भएको सूचना गहतराज आफैले प्रहरीलाई दिएका थिए । प्रहरीले विद्युत प्राधिकरण तथा इन्भर्टर जडान गर्नेसँग पनि सोधपुछ गरेको थियो । बीमा गराएको महिनादिनभित्रैमा घटना भएको तथ्यका कारण प्रहरीले सबैतिरको सिसीटिभी फुटेज अध्ययन गर्दा गहतराजकै गाडी आगोलागी हुनुअघि मध्यराति सो पसलमा पुगेको तथ्य फेला परेपछि पक्राउ गरी कानुनी कारवाह िसुरु गरेको हो ।

पोखराको न्यूरोड नारेश्वर चोकस्थित मुक्तिनाथ शपिङ सेन्टर सामान्य अवस्थाबाट चलिरहेको थियो । सर्वत्र परेको आर्थिक मन्दिको असर उक्त पसलमा पनि पर्यो । जिप्रका कास्कीका अनुसार पसल सञ्चालक गहतराजले आफूले पसल हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा दुई करोड १० लाख रुपैयाँको गरेका थिए । बीमा कम्पनीबाट बीमा दावी भुक्तानी लिने उद्देश्यले आगो लगाउन पाएमा बीमा दावी भुक्तानी लिएर आफ्नो सबै काम र समस्याहरु सल्टाउने उपाय निकाले । यसको लागि पोखरा १७ बिरौटा बस्ने पवन नेपाललाई योजना सुनाए । अनि ४३ बर्षिय पवन नेपाल सो योजनामा काम गर्न तयार भए । सो बमोजिम गत साउन १६ गते गहतराजकै कार लिएर मध्यराति २ः०० बजेतिर पसलमा पुगे अनि २ः१५ बजेतिर सलाई कोरेर पसलमा आगो लगाएर भागे ।

केहीबेरपछि आगो दन्दनी बल्न थाल्यो । कसैले दमकल र प्रहरीलाई सूचना दियो लगत्तै सबै जुटेर आगो निभाउने काम भयो । राति नै घटनास्थलमा पुगेका गहतराजले आफू खरानी भएको भन्दै बिलौना गरे । नभन्दै पसल सबै खरानी भइसकेको थियो । भोलिपल्ट प्रहरीले मुचुल्का बनाउन थाल्यो । सुरुमा बीमा गरेको छैन भनेका उनले साउन १७ गते दिउँसो भने जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएर प्रहरी प्रतिवेदन माग गरे ।

कास्की प्रहरीले घटना कसरी भयो भनेर अनुसन्धान सुरु गरिसकेको थियो । सिसीटिभी फुटेजमा पसल सञ्चालक गहतराजकै कार आगो लाग्नु १५ मिनेट अघि अर्थात मध्यराति २ः०० बजे पुगेको र सोही कारबाट एक व्यक्ति ओर्लिएको तथ्य प्रमाण फेला पर्यो । सो प्रमाणको आधारमा पवन नेपाललाई आज पक्राउ गर्यो । पवनले साबिती बयान दिएर आफूले आगो लगाएको पुष्टि गरे । त्यस लगत्तै प्रहरीले पसल सञ्चालक सुजन गहतराजलाई पनि पक्राउ गरी जिल्ला अदालत कास्कीबाट म्याद थप गरेको छ ।

आगोलागी भएको एक घण्टाभित्रैमा पूर्ण रुपमा जलेर खरानी भयो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मुक्तिनाथ सपिङ सेन्टरभित्र रहेको मदिरा पसल, ग्रोसरी शप कष्मेटिक शप समेत जलेर खरानी हुन पुगेको छ । उक्त पसलमा आगोलागी हुँदा करिब डेड करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

बीमा दावी लिन्छु भनेर करोडौं लगानी गरेर आफैले खोलेको पसलमा आगो लगाउने सुजन गहतराज अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको चिसो हिराशतमा पुगेका छन् भने उनले पाउने बीमा दावी समेत अब नपाउने भएका छन् । प्राकृतिक प्रकोप वा दैवी प्रकोप तथा कुनै घटना परिघटनाबाट हुने क्षतिका लागि बीमा गरेर जोखिम रक्षावरण गरेको आफ्नै पसलमा आफैले आगो लगाएर बीमा दावी लिने गहतराजको सपना तुसारापात हुन पुगेको छ । पोखराको व्यस्त चोकमा चलिरहेको मुक्तिनाथ शपिङ सेन्टर खरानी भएसँगै उनी पनि करोडौं ऋणमा डुब्न पुगेका छन् ।

उता, प्रहरीको सचेतताको कारण हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको करिब डेढ करोड रुपैयाँ बचेको छ । हिमालयन एभरेष्ट मात्रै नभई पुनर्बीमा कम्पनी समेतको लाखौं रुपैयाँ जोगिएको छ । बीमा दावी लिन नक्कली घटना गराउने प्रवृत्ति बढ्दै जाँदा बीमा दावी भुक्तानी थप जटिल बन्ने र वास्तविक पीडितहरुले बीमा दावी रकम लिन थप कठिनाई भोग्नुपर्ने अवस्था आउनेतर्फ नियामक निकाय, नेपाल सरकार र प्रहरी समेत थप सचेत हुँदै यस्ता बीमा ठगीमा संलग्न व्यक्तिहरुलाई कडा कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*