यो साताको शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । मौद्रिक नीतिपछिको सकारात्म प्रभावले यो साताकोे शेयर बजारमा केही रौनक छाएको छ । २ हजार ३० विन्दुदेखि उकालो लागेको नेपालको धितोपत्र दोस्रो बजार २ हजार ७५५ दशमलव ६२ विन्दुमा बन्द भएको छ ।
पछिल्लो कारोबार दिन गत बिहीवार २ हजार ८०५ दशमलव ५७ विन्दुसम्म पुगेको बजार पछि २ हजार ८०० विन्दुमुनि नै बन्द भएको हो । यो साता पाँच कारोबार दिनमा बजार दुई कारोबार दिन घटेको छ भने तीन कारोबार दिन बढेको छ । धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचकसँगै पछिल्लो समय कारोबार रकमसमेत बढेको छ ।
मौद्रिक नितिको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । साताको पहिलो कारोबार दिन दुई पटकको सर्किट ब्रेकपछि सम्हालिएको बजार ११३ दशमलव ४२ अंक बढेको थियो । दोस्रो दिन नाफा बुक गर्दा २० दशमलव ४६ अंक करेक्सन भएको बजार तेस्रो दिन ३५ दशमलव ५५ अंक र चौथो दिन ६४ दशमलव २६ अंक बढेको थियो । अन्तिम कारोबार दिन ५ दशमलव २९ अंकको करेक्सन बजारमा देखिएको थियो ।
पहिलो कारोबार दिन १५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा दोस्रो दिन १९ अर्ब ६० करोड रुपैयाँभन्दा बढी, तेस्रो दिन १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढी, चौथो दिन २१ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी र पाँचौं दिन २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
यो साता हालसम्मकै बढी रकमको कारोबार भएको देखिन्छ । यसअघि बजारले ३ हजार २०० विन्दुको ऐतिहासिक रेकर्ड कायम गरेको दिनको भन्दा यो साताका दुई कारोबार दिनमा कारोबार बढी भएको छ । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो ।
लगानीकर्ताको उत्साह कायमै रहेको अवस्थामा यो साता नेप्से परिसूचक ७ दशमलव ३० प्रतिशत बढेको हो । बजार बढ्दा लगानीकर्ताको सम्पत्ति मूल्य पनि ७ दशमलव ३० प्रतिशतले नै बढेको छ । रकमका हिसाबले कुल बजार पूँजीकरण २ खर्ब ९७ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४० खर्ब ७४ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७२ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ कायम भएको हो ।
कारोबार रकमले ऐतिहासिक ब्रेक गर्दा पाँच कारोबार दिनमा ९६ अर्ब ३१ करोड १० लाख रुपैयाँभन्दा बढीको २३ करोड ७ लाख ६६ हजारभन्दा बढी धितोपत्र खरीदविक्री भएको छ । गत साता पाँच कारोबार दिनमा ७३ अर्ब ६१ करोड ६६ लाख रुपैयाँभन्दा बढीको १९ करोड ७० लाख ८३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम करीब ३१ प्रतिशत र कारोबार कित्ता १७ प्रतिशतले बढेको छ ।
औसतमा गत साता १४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको ३ करोड ९४ लाख १६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १९ अर्ब २६ करोड २२ लाख रुपैयाँभन्दा बढीको ४ करोड ६१ लाख ५३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
यो साताको कारोबारमा लघुवित्त र व्यापारिक समूहका परिसूचक घटेका छन् । अरु समूहको परिसूचक बढ्दा यी दुई समूहको परिसूचक भने घटेका हुन् । लघुवित्त समूहको ३ दशमलव १३ प्रतिशत र व्यापारिक समूहको ३ दशमलव ४५ प्रतिशत परिसूचक घटेको छ ।
यो साता वित्त समूहको परिसूचक सर्वाधिक २० दशमलव ३२ प्रतिशत बढेको छ । त्यस्तै लगानी समूहको परिसूचक १९ दशमलव १८ प्रतिशत, अन्यको १० दशमलव ८२ प्रतिशत, होटल तथा पर्यटनको ९ दशमलव ७४ प्रतिशत, जीवन बीमा समूहको ८ दशमलव ८१ प्रतिशत, बैंकिङ समूहको ८ दशमलव ६१ प्रतिशत, विकास बैंकको ७ दशमलव शून्य ३ प्रतिशत, जलविद्युतको ५ दशमलव शून्य २ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव ९१ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव शून्य १ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ५ प्रतिशत परिसूचक बढेको छ ।