सिटिजन्स बैंकको मुनाफा घट्यो, लाभांश क्षमता कति ?
काठमाडौं । सिटिजन्स बैंकले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद मुनाफा करिब २८ प्रतिशतले घटेर १ अर्ब ३४ करोडमा संकुचन भएको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनलिे १ अर्ब ८६ करोड खुद मुनाफा आर्जन गरेको थियो।
कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ३४ करोड खुद मुनाफा आर्जन गरेपनि शेयरधनीहरुलाई वितरण गर्न सक्ने मुनाफा रकम भने ६१ करोड ६१ लाख रुपैयाँ छ। कम्पनीले दिन सक्ने लाभांश प्रतिशतको हिसाबमा ४।३४ प्रतिशत हुन आउँछ। कम्पनीको इम्पेयरमेन्ट चार्ज ४५।११ प्रतिशतले बढेर ८५ करोड ९५ लाख रुपैयाँ पुग्दा त्यसले वितरणयोग्य मुनाफामा असर पारेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २।४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८।३१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १।५७ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ३।९९ प्रतिशतबाट बढेर ४।०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १९।३२ प्रतिशत र खुद नाफा करिब २८ प्रतिशत घटेको हो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ।
असार मसान्तसम्म ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०।४७ गुणा रहेको छ।
१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।