उचालिएको शेयर बजारः साना र नवप्रवेशी लगानीकर्ता डुब्दै, ठूला लगानीकर्तालाई एक्जिट गराउने फोहोरी चलखेल
समाचार टिप्पणी
अर्थमन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै शेयर बजार निरन्तर उचाई तिर लम्किरहेको छ । बजारमा आएको रौनकले शेयर लगानीकर्ताहरुमा उत्साहको माहौल सिर्जना भइरहेको हो । पछिल्लो समय परिसूचक र कारोबार रकमले नयाँ फड्को मार्दै अघि बढी रहेको छ । कारोबार रकम नयाँ रेकर्ड समेत कायम गरेको छ । यहि साताको बुधबार कारोबार रकमले हालसम्मकै उच्च बन्न पुगेको छ । यो उत्साह बाहिरबाट हेर्दा असाध्यै राम्रो, ऐतिहासिक र नेपाली पुँजि बजारमा आएको एतिहासिक परिवर्तन हो ।
सो दिन ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार कित्ता शेयर खरीदबिक्री हुँदा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । परिसूचक समेत अहिलेसम्म २८ सय बिन्दुमा पुगि सकेको छ ।
अन्यथा नमानौं जहाँ आकस्मिक हुन्छ त्यहाँ प्रश्न र आशंकाहरु हुन्छन् । देशमा अहिले कुनै परिवर्तन भएको छैन । एउटा नाथे अर्थमन्त्री फेरिएका हुन् । विगतका अर्थमन्त्रीहरु भन्दा वर्तमान अर्थमन्त्री घुस नखाने, इमान्दार, दुधले नुहाएको भएपनि अब केही गर्छन भन्ने आशा हुन सक्दथ्यो । तर, उही कांग्रेस, उही एमाले र उही माओवादीको अर्थमन्त्री जस्तै विष्णु पौडल अर्थमन्त्री भएका हुन् । त्यसैले उनले कुन त्यस्तो चमत्कार गर्नेछन् र ? जसबाट शेयर बजारमा व्यापक आशा र उभार आउनुपर्ने ? पछिल्लो तीन महिनामा कुनै पनि कम्पनीहरुको वित्तीय विवरणमा बम्पर लाभांश कुन कम्पनीले दिन सक्षम छन् र शेयर बजार यसरी सपना झै लाग्ने गरी हौसिनुपर्ने ?
हो, एउटा आशा भने पक्कै छ । देशका दुई ठूला पार्टी कांग्रेस र एमालेले मिलेर नयाँ सरकार बनाएका छन् । जसको परिणाम सरकार स्थायी हुनसक्ने र जनताको पक्षमा केही राम्रो काम हुनसक्नेछ भनेर अपेक्षा भने गर्न सकिन्छ । त्यति मात्रै संयोगका आधारमा शेयर बजार यति धेरै उचालिँदा आम लगानीकर्ता, नयाँ लगानीकर्ता, थोरै थोरै लगानी गरेर शेयर बजारमा केही हुन्छ भनेर आउनु भएका लगानीकर्ताहरु डुब्ने अवस्था आउन नदिनेतर्फ सबै सचेत हुनुपर्ने गम्भिर अवस्थामा शेयर बजार आइपुगेको छ ।
अहिले बजारमा आइरहेको उछाललाई अहिले माफियाको चलखेल भइरहेको त होइन भन्ने शंका उठ्न थालेका छन् । मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जामा लगाएको क्याप खारेजले अझ ठुला लगानीकर्ताले चलखेल गर्ने स–साना लगानी डुब्नेत होइन ? जुन समयमा बजार ३२ सय बिन्दुमा पुगेको थियो त्यो बेला २८ सय २९ सय परिसूचक हुँदा शेयर खरिद गर्ने लगानीकर्ता अझै रिकभर हुन सकेका छैनन् । त्यो बेलाको अवस्थालाई ध्यानमा राखेर शेयर लगानीकर्ताले लगानी गर्दा निकै सुरक्षा अपनाउनु पर्ने अवस्था अहिले पनि छ । उतिबेला ३२०० को बिन्दुमा पुगेका बेला फसेका लगानीकर्ताहरु देशमा टिक्न नसकेर धेरै मानिसहरु विदेश पुगेका छन् । यस पटक पनि त्यस्तो अवस्था आउन नदिन अबका हरेक दिनको खरिदमा विशेष ध्यान दिनुपर्नेछ ।
शेयर मूल्य बढेको बेला माहौल सिर्जना गर्ने र ठूलो लगानीकर्ताहरु एक्जिट भएर साना लगानीकर्ता र नयाँ लगानीकर्ताहरु फस्ने गम्भिर परिस्थिति बन्न सक्नेछ । त्यसैले अबका दिनहरुमा विशेष ध्यान नपुर्याए शेयर बजारका खेलाडीहरु साना लगानीकर्ताहरुलाई आत्महत्या गर्ने अवस्थामा नपुर्याउलान भनेर भन्न सकिदैन । यसले सोझासिधा लगानीकर्ता ठगिने र बाठा लगानीकर्ता छिट्टै मालामाल हुने हुँदा बढेको बजारलाई घटाउन सक्रिय लगानीकर्ताहरूको चलखेल बढ्न सक्छ । ठुला लगानीकर्ताले कम्पनीको शेयर मूल्य बढाएर आफु एक्जिट हुने र स–साना लगानीकर्तालाई बजारले नयाँ रेकर्ड कायम गर्छ भन्दै लगानी जोखिममा पार्नेमा ध्यान दिनुपर्छ । लगानीकर्ताले हचुवाको भरमा लगानी गर्नु हुँदैन । लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नेका लागि वित्तीय अवस्था, इपिएस, नेटवर्थ, भावि योजना जस्ता कुरा ध्यान दिनुपर्छ । नाफा घाटालाई नहेरी लगानी गरे लगानी कुनै न कुनै समय धरापमा पर्ने प्रष्ट छ ।
शेयर बजारमा धेरै खालका सकारात्मक र नकारात्मक कन्टेन्टहरुमार्फत बिचौलिया र माफियाले चलखेल गर्ने गर्दछन् । यो समाचार टिप्पणी शेयर बजार धेरै घटाउन वा बढाउन भन्दा पनि आम लागनीकर्ताहरुको हित कसरी सुरक्षित गर्ने र नव प्रवेशी र धेरै धन्दा धेरै साना लगानीकर्ताहरुलाई जोगाउन र सचेत हुनुपर्दछ भन्ने ध्ययले प्रस्तुत गरिएको हो ।
अहिले नाफा, इपिएस, नेटवर्थलगायतका वित्तीय सूचक नै ऋणात्मक रहेका कम्पनीहरुको शेयर मूल्य बेलुन झै फुकेका छन् । वित्तीय सूचक नै धरापमा रहेका कम्पनीका भरिएको हावा एकदिन झुट्ने निश्चित नै छ । जुन समयमा माफियाहरु एक्जिट भइसकेका हुनेछन् भने साना लगानीकर्ता डुब्ने छन् । जस तर्फ साना लगानीकर्ताले ध्यान दिनु जरुरी छ । १ रुपैयाँ पनि नेटवर्थ नभएका कम्पनी २००० पुगिसकेको बजारमा नयाँ लगानीकर्ताले होसियार हुनुपर्छ । अझ सिधा भन्दा नयाँ लगानीकर्ता त्यस्ता सेयरमा प्रवेश गर्ने नै होइन । लगानीकर्ताले आफूले किन्ने कम्पनीको सेयरबारे बुझ्नुपर्छ । खासमा बुल बजारमा कम्पनीले दिने लाभांश भन्दा पनि क्यापिटल गेनकै लागि लगानी गर्ने हो । तर कारोबार गर्दा पनि राम्रै कम्पनीमा गरे त्यसले बजार झर्दा पनि पीडा दिँदैन । यस विषयमा पनि लगानीकर्ता जानकार अति आवश्यक रहेको छ ।
आजमात्रै अर्थमन्त्री पौडेलले हचुवा तथा लहै–लहैमा लागे लगानी नगर्ने शेयर बजारका लगानीकर्तालाई आग्रह समेत गरेका छन् । उनले वित्तीय अवस्था, सम्बन्धीत कम्पनीको नाफा घाटालाई हेरेर मात्र लगानी गर्ने भनेका हुन् । बजारमा हुने चलखेललाई समेत ध्यान दिन धितोपत्र बोर्डलाई अर्थमन्त्रीले निर्देशन दिएका छन् । नाफा आउँछ भन्दैमा जथाभावि लगानी गर्नु हुँदैछ । जसमा साना लगानीकर्ताले विशेष ध्यान दिनुपर्छ । बजार बढिरहँदा ’अव बजार सिधै ३२ सय माथि नै हो । अब ५०० भन्दा कुनै शेयर कम हुँदैन । अहिले किन्ने समय हो । यो अवस्थामा समेत नकिने कहिले किन्ने ?, अझै बढ्छ, यो कम्पनी किन्नुहोस् त्यो कम्पनी किन्नुहोस् भन्नेहरु धेरै भेटिन्छन् । अझ बजार घटेका बेला सबै बेच्नु है बजार पूरै १६०० हो भन्ने हरु पनि थिए । यस्ताका पछि लाग्दा बजारमा घाटा खाने निश्चत नै हो । यस विषयमा आम लगानीकर्ता सचेत हुनुपर्छ ।
कतिपय निहित स्वार्थ बोकेका समूहले शेयरमा चलखेल गर्ने परम्परा नेपालमा मात्र नभएर विश्वभरीकै पुँजीबजारमा समेत चल्ने गर्दछ । देशको परिस्थिती र अर्थव्यवस्था अनुसार भिन्न भिन्न ढंगले सेयरमा चलखेल हुने गरेका छन् । इन्साइडर ट्रेडिङ र अफवाह फैलायर शेयर बजारमा चलखेल गर्ने जस्ता कुरामा समेत लगानीकर्ताले ध्यान दिनु आवश्यक रहेको छ ।
नवप्रवेशी लगानीकर्ताहरूले बजार बढेको देखेर हौसिएर थप लगानी गर्नुभन्दा पनि आफूले गरेको लगानीको सुनिश्चिततातर्फ ध्यान दिनुपर्दछ। किनकी शेयरमा कमाउने भन्दा गुमाउनेको संख्या जहिले पनि अधिक हुन्छ। बढी नाफा कमाउने आशामा शेयरमा लगानी गर्नुभन्दा पनि यसको विविधिकरणमा ध्यान दिनु उपयुक्त हुन्छ। शेयर बजारमा आधारभुत अवस्था राम्रा भएका र लाभांश दिने कम्पनीमा मात्र लगानी गरौं, लहै लहैमा नलागौं, नत्र पछुताउनु बाहेकको अन्य विकल्प हुने छैन ।
प्रस्तुत लेख लगानीकर्तालाई निरुत्साहित गर्न नभई सचेत गराउन र बहुसंख्यक लगानीकर्तालाई बचाउन प्रस्तुत गरिएको हो । हामी फेरि पनि कम्पनीको वित्तिय बलियोपना, वित्तिय विवरणको आधारमा उचित विश्लेषण गरेर मात्रै शेयर खरिद बिक्री गर्न सचेत गराउँदै कसैलाई चित्त नबुझेमा कमेन्ट लेख्न सक्नुहुनेछ । अश्लिल र छाडा गाली बाहेकका रचनात्मक प्रतिक्रियालाई स्थान दिइनेछ ।