उद्योगको विद्युत रकम नउठ्दा कर्मचारी कुटिए, वक्यौता तिरेनन् भने कति बैंक डुब्छन् थाहा छैनः घिसिङ

१८ श्रावण २०८१, शुक्रबार १५:५३

काठमाडौँ । सर्वसाधारणको घरमा विद्युत कटौति गर्न जाँदा विद्युत प्राधिकरण कर्मचारीलाई कुटेर पठाएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लेखा समितिमा गुनारो गरेका छन् । आज भएको छलफलमा बोल्दै घिसिङले ठुला ठुला उद्योगको पैसा नउठाएको भन्दै कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाएको बताएका हुन् ।

उनले भने, ‘विद्युतको पैसा नतिरेका ग्राहकको घरमा लाइन काट्न जाँदा संखुवासभामा स्थानीयले प्राधिकरणको कर्मचारीलाई कुटेर पठाएका छन् । स्थानीयले उद्योगबाट विद्युतको पैसा नउठाउन अहिले सर्वसाधारणको घरमा आएर लाइन काट्ने भनेर कुटेर पठाएका छन् ।’

अहिले उद्योगबाट पैसा नउठाएको भन्दै यसपटक कम वक्यौता उठ्ने घिसिङको भनाइ रहेको छ । ‘हामीले मासिक ९ अर्ब विद्युत वक्यौता उठाउने गरेका थियौं । तर, अहिले उद्योगबाट पैसा नउठाएको भन्दै विद्युतको पैसा कम उठ्न थालेको छ । हामीले पनि प्रति महिना ७ अर्ब पैसा ऋण लिएको निकायहरुलाई तिर्नु पर्ने हुन्छ । उपभोक्ताले विद्युत वक्यौता तिरेनन् भने कति बैंक डुब्छन् थाहा छैन ।’

प्राधिकरणले काटेको बिलमा चित्त नबुझे प्राधिकरणको पुनरावेदनमा जन सकिने व्यवस्था रहेको घिसिङले बताए । ‘वक्यौता तिर्न बाँकी रहेको उद्योग कतै गएनन् । अदालत गए भने मुद्दा हार्ने अवस्था रहेको छ’ घिसिङले भने ।

निजी क्षेत्रले पैसा तिर्न छाडेपछि सरकारी सिमेन्ट कम्पनीले पनि अहिले विद्युत वक्यौताको पैसा तिर्न छोडेको उनको भनाइ छ ।

फाइल तस्बिर

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*