स्वास्थ्य बीमा बोर्डका कर्मचारीद्वारा कामकाज ठप्प, सेवाग्राही मारमा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारीले आफना जायज मागसुनुवाइ नभएको भन्दै शुक्रबार सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।
बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि पठाएको ‘क्लेम’ हेर्न सेवा बन्द गरेर आफना माग पूरा गर्न आजको सम्पूर्ण काम कारवाही ठप्प पारेका हुन् । जसको कारण स्वास्थ्य बीमा बोर्डका सेवाग्राही मारमा परेका छन् ।
बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । बोर्डका कर्मचारीले गएको साउन ३ मा १५ दिनभित्र रिजालको काजफिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
आन्दोलनरत कर्मचारीका अनुसार शाखा अधिकृत रिजालले वर्षाैदेखि कर्मचारीलाई आफूबाहेक अरुलाई कुनै कुरा थाहा छैन भनी हेप्ने, हप्काउने, जागिर खाइदिन्छु भनी धम्काउने, अपशब्द बोली कर्मचारीलाई मानसिक तनाव दिने गरेको आरोप छ ।
तर, शाखा अधिकृत रिजालले भने स्वास्थ्य बीमा बोर्ड सुधार गर्न खोज्दा आफूमाथि आरोप लगाइएको बताए ।
उनका अनुसार स्वास्थ्य बीमा बोर्डबारे सम्पूर्ण जानकारी दिने ड्यासबोर्ड नचलेको वर्षौं बितिसकेको छ । ‘बोर्डको सम्पूर्ण कुरा पारदर्शी बनाउन ड्यास बोर्ड चलाउनुपर्छ भनेर आवाज उठाएको थिएँ । जुन कुरा अन्य कर्मचारीलाई पचेन,’ उनले भने, ‘अर्को कुरा राष्ट्रिय परिचयपत्र बनाउन बाँकी हुनेहरुले पनि अनलाइन फारम भर्न पाउने व्यवस्था गर्नुपर्छ भनेको थिएँ ।’ उनले आफू सरुवा भएर गए पनि बोर्डका यी कुरा सुधार नभएसम्म पारदर्शी नहुने बताए ।