सरकारले अनिवार्य गरेको मोटर बीमामा मात्रै कम्पनीहरु केन्द्रित, कृषि र लघुबीमामा देखिएन आकर्षण

१७ श्रावण २०८१, बिहीबार १२:५३

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको चौथो मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका हुन् ।

सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय बीमा गर्नुपर्ने सरकारको नीतिले कम्पनीहरूले बीमा व्यवसायलाई मोटर क्षेत्र केन्द्रीत बनाएका हुन् । निर्जीवन बीमा कम्पनीहरुले समग्र रुपमा कुल १६ लाख ४५ हजार ९०६ वटा मोटर बीमालेख बिक्री गरी कुल १२ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।

साथै, सम्पत्ति बीमालेख दोस्रो स्थानमा रहेको छ । कम्पनीहरुले ४ लाख ९७ हजार ४४२ वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् । उक्त बीमालेख बिक्री गरी १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार इन्जिनियर तथा ठेक्का जोखा बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । यस अवधिमा कम्पनीहरुले ३२ हजार ९७७ वटा बीमा पोलिसी बिक्री गरी उक्त रकम बराबरको आम्दानी गर्न सफल भएका छन् ।

कम्पनीहरुले विविधबाट ४ अर्ब ५१ करोड ४८ रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले यस अन्तर्गत १ लाख ६६ हजार ४०५ वटा बीमालेख बिक्री गरेको छ । जेठ महिनासम्ममा हवाई बीमालेखबाट १२७ वटा बीमालेख बिक्री गरी २ अर्ब ६० करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ ।

सरकारले समयमै अनुदान नदिने जस्ता अनेकौ बाधाहरुले कृषिमा भने आकर्षण देखिदैन् । कृषि तथा बाली बीमालेख मार्फत १ लाख ५० हजार ३४५ वटा बीमालेख बिक्री गरी कुल २ अर्ब ८ करोड ५६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सामुन्द्रिक बीमालेखबाट १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीहरुले यस बीमालेख अन्तर्गत ३ लाख ३६ हजार ४४४ वटा बीमालेख बिक्री गरेको छ ।

कम्पनीहरुले सबैभन्दा कम लघुबीमा मार्फत बीमाशुल्क आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले लघू बीमालेख मार्फत ३१ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*