सरकारी जागिर छोडेर दुई दशकदेखि निरन्तर बीमा व्यवसायमा चम्किदै गंगा शर्मा पराजुली

राजन कठायत 
१६ श्रावण २०८१, बुधबार २०:०५

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ कुनै ठेगान हुँदैन । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला नेशनल लाइफ इन्स्योरेन्सकी बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी चिफ विजनेश म्यानेजर गङ्गा शर्मा (पराजुली)ले सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेकी छिन् । सायद अब उनलाई फेरि ती अफ्ठ्यारा घुम्तीहरूमा ठोकिन पर्नेछैन । ती अप्ठ्यारा घुम्तीहरू पारगर्न उनलाई नेशनल लाइफले ठूलो सहयोग गरेको छ ।

प्रत्येक मानिसले सफलता प्राप्त गर्नका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेकी छिन् बाँके, नेपालगञ्जकी गङ्गा शर्मा (पराजुली) । पराजुली पूर्व शिक्षिका र हाल नेशनल लाइफ इन्स्योरेन्सकी चिफ विजनेश म्यानेजर हुन् । शिक्षण पेशामा आवद्धभई हजारौं बालबालिकालाई ज्ञानको ज्योति प्रदान गर्दै आएकी पराजुलीले सोही विद्यालयका एकजना शिक्षकको सल्लाहमा नेशनल लाइफको अभिकर्ता बन्न प्रेरणा मिलेको बताउँछिन् । विगत १९ वर्षदेखि निरन्तर बीमा व्यवसायमा सक्रिय रहेकी पराजुलीले आफूलाई उदाहरणीय र एक व्यवसायिक बीमा अभिकर्ताको रूपमा समेत आफ्नो अलग्गै परिचय बनाउन सफल भएकी छिन् ।

बीमा अभिकर्ता भएसँगै उनको जीवन मात्रै होइन हजारौं बीमितहरू जसले बीमा गराए वा उनको सल्लाहमा बीमा अभिकर्ता बने उनीहरू समेत सुरक्षित भएका छन् । उनीसँग बीमा गरेका करीब पाँच हजार जना नागरिकहरूले यतिबेला जिन्दगीको मोडमा कहीँकतै दुर्घटना भएभने सुरक्षित रहने बाटो तय गरेका छन् ।

बीमा क्षेत्रमा आवद्ध अधिकांश अभिकर्ताहरूले बीमालाई पार्टटाइम वा खेरगइरहेको समयको सदुपयोग गर्ने पेशाका रूपमा लिएका छन् । तर, नेपालगञ्जकी गङ्गा शर्मा पराजुलीले बीमा व्यवसायलाई नै प्रोफेशनको रूपमा अगाडी बढाउँन खाईपाई आएका तलब सहितको अध्यापन पेशालाई समेत त्यागेकी छिन् । बर्दियाको अमरज्योति उच्च मा.वि.मा अध्यापन गर्दै आएकी पराजुलीले ०७२ सालमा शिक्षण पेशालाई त्यागेर नेशनल लाइफकै पहिलो व्यवसायिक अभिकर्ता बनेको बताउँछिन् । ‘बीमा क्षेत्रमा पार्ट टाइम र केही गलत नियत भएका अभिकर्ताका कारण व्यवसायिक बीमा व्यवसायीहरूलाई पनि बजारमा अप्ठ्यारो पर्ने गरेको छ ।’ उनी सुनाउँछिन् ।

पराजुली करीब दुई दशकदेखि निरन्तर बीमा व्यवसाय पेशामा आवद्ध भएर गाँउसमाजका बालबालिका तथा नागरिकहरूको बीमा गराई जीवन रक्षावरण गर्न सफल भएकी एक साहसी महिला तथा बीमा व्यवसायी हुन् । शुरूमा शिक्षण पेशा सम्हाल्दै आएकी उनी बीमा अभिकर्ता व्यवसायमा आवद्ध भएपछि सफलताको कथामा रूपान्तरण मात्रै भएनन्, अझै दह्रो आत्मविश्वास, मनग्य आम्दानी र स–सम्मान समेत प्राप्त गर्न सफल भएकी छिन् । परिवारबाट पूर्ण साथ सहयोग पाएकी पराजुलीले आफ्ना दुई सन्तानलाई पनि बीमा व्यवसायको आम्दानीबाटै उच्च र गुणस्तरीय शिक्षा दिँदै आएकी छिन् ।

उनले नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी उनले । तत्कालीन समयमा नेपालगञ्ज शाखा कार्यालयबाट अभिकर्ता बनेकी हुन् । गङ्गा शर्मा (पराजुली)का बुबा राजनीति समाज सेवामा सक्रिय भएकाले आफ्नो बुबाले बनाएको असल व्यक्तित्वको परिचयले गर्दा आफूलाई पनि चिनाउन कठिन नपरेको बताइन् ।


‘म शुरूशुरुमा बिहान विद्यालय पढाउन जान्थेँ र त्यहाँबाट आएपछि खानाखाई हतार–हतारमा साइकल चढेर किसानको खेत र घर–घर धाउँदै बीमा गराउथेँ । ‘हाम्रो घरमा बुबालाई भेट्न भनेर धेरै टाढाबाट मानिसहरू आउने गर्थे र बुबाले पनि उहाँहरूलाई बीमाको फाइदा बताएर बीमा गर्दा राम्रो हुने बताउनु हुन्थ्यो ।’

बजारमा थुप्रैले अभिकर्ता लाईसेन्स लिएका हुन्छन् । तर, नागरिकले विश्वासिलो, परिचित र व्यवसायिक अभिकर्तासँग मात्र बीमा गराउने गरेको पराजुलीको बुझाई छ । ‘बीमा गराउनका लागि सर्वसाधारणलाई विश्वास दिलाउनु ठूलो संघर्ष गर्नुपर्ने रहेछ । म शिक्षक भएको कारण, मलाई बीमा गराउन त्यति गाह्रो भएन । छोराछोरीहरूका लागि आमा–बुबाको महत्व जति रहेको हुन्छ, त्यति नै महत्व सम्पत्तिको लागि बीमाको पनि हुन्छ ।’ नेशनल लाइफले सञ्चालन गर्ने गरेको दाबी भुक्तानी, तालिम र अन्य बीमा सम्बन्धी कार्यक्रममा आफू सहभागी हुने क्रममा विद्यार्थीको पढाई प्रभावित हुन थालेपछि आफू अध्यापन पेशालाई पूर्ण रूपमा त्यागेर बीमा व्यवसायलाई आफ्नो व्यवसाय बनाएर अघि बढेको अनुभव उनी सुनाउँछिन् ।

(भिडियो)

बीमा क्षेत्रमा आवद्ध भएको दुई दशक समय अवधिमा करीब ५ हजार जना मानिसको बीमा गरेकी उनले बीमितको घरमा नै गएर बीमा दाबी भुक्तानी दिने गरेको बताउँछिन् । उनले यस अवधिमा १९ वटा बीमा दाबी भुक्तानी समेत गरिसकेकी छिन् । नागरिकले बीमा दाबी भुक्तानीको समयमा भोग्नु परेका समस्याले गर्दा बीमा सम्बन्धी झन् नकारात्मक धारणा फैलिएको उनको बुझाइ छ । पराजुलीका अनुसार अभिकर्ता भनेको कम्पनी र बीमितबीचका पुल हुन् । सफल र व्यवसायिक अभिकर्ता हुन आफ्ना बीमितप्रति सँधै इमान्दार र उद्धार रहनुपर्ने उनको धारणा छ ।

कम्पनीले आफ्नो हरेक काममा साथ, सहयोग दिएको र आफूले पनि सा–साना गरी छरिएर रहेको पुँजीलाई बीमा मार्फत संकलन गरी देश निर्माणमा समेत टेवा पु¥याउन पाउँदा खुशी लाग्ने गरेको सुनाइन् । ‘नेपालमा अन्य थुप्रै बीमा कम्पनीहरू रहेका छन् र मलाई बिभिन्न कम्पनीबाट आफ्नो कम्पनीमा अभिकर्ता भएर आउन अफर समेत आउने गरेका छन् । तर म कुनै पनि कम्पनीमा गइनँ किनभने नेशनल लाइफ इन्स्योरेन्स भनेको शत्प्रतिशत् नेपाली लगानी रहेको कम्पनी हो । हाम्रो कम्पनीको वोनस दर पनि सबैभन्दा बढी छ र दाबी भुक्तानीमा झन् कम्पनीले विशेष ध्यान दिएको कारण मैले यो कम्पनी छाड्न सकिनँ । अब त नेशनल लाइफ मेरो अभिभावक जस्तै बन्न पुगेको छ ।’

मानिसको जीवनमा बीमाको धेरै नै महत्व हुन्छ, तर शिक्षा र चेतनाको अभावमा बीमा अझै गरीब र न्यून् आय भएका जनताको पहुँचमा पुग्न सकेको छैन । ‘नेपालको मात्र नभई विश्व बीमा बजार नै बीमा अभिकर्ता विना अपूर्ण छ । देशको दूर–दराजमा बीमाको दायरा बढाउन जीवन बीमा कम्पनीले व्यवसायिक अभिकर्ता उत्पादन गर्न जरूरी रहेको छ । यस्ता कुरालाई नियमनकारी निकायले विशेष प्राथमिकतामा राख्न जरूरी छ ।’ नियमनकारी निकाय बीमा प्राधिकरण, स्वयम् कम्पनी र अभिकर्ताहरूले बीमा सचेतनाको लागि मिलेर काम गर्नु पर्छ । नागरिकको जीवन रक्षा, आर्थिक दायित्व, जोखिम वहन, गर्नुपर्ने उनको बुझाइ छ । बीमा भन्ने चीज आवश्यकता परेको बखत गर्न नपाइने हुँदा आजै बीमा गरेर भविष्यमा आइपर्ने आपत्बाट बच्नुपर्छ ।

पराजुलीले विगतमा आफू बीमा व्यवसायमा आवद्ध हुँदा बीमा कम्पनीलाई पनि नियमन गर्ने कुनै निकाय हुन्छ भन्ने थाहा नभएको बताइन् । ‘मलाई बीमा प्राधिकरण (तात्कालीक बीमा समिति) छ भन्ने कुरा त्यस्तै ६–७ वर्ष अघि मात्र थाहा पाएकी हुँ । योभन्दा अघिसम्म बीमा कम्पनीले नै नियमन गर्छ भन्ने लाग्थ्यो ।’ देशको दूर दराजका नागरिकमा बीमाको बारे जनचेतना बढाउन नसक्दा अझै बीमितहरूमा बीमाप्रतिको नकारात्मक धारणा रहेको उनी बताउँछिन् । बीमा अभिकर्ताको लाइसेन्स लिएर कोठामा थन्क्याउने गरेको, काम चलाउ अभिकर्ताका लागि प्राधिकरणले ल्याएको एकाघर सदस्यको बीमा गर्न नपाउने निर्देशिका आफूलाई एकदमै उचित लागेको, तर बीमा व्यवसायलाई मात्र प्रमुख व्यवसाय बनाएर लागेका व्यवसायिक अभिकर्ताका लागि भने यो राम्रो निर्णय नभएको उनको धारणा छ ।

बाँके जिल्लाका शहरी क्षेत्रमा गङ्गा शर्मा (पराजुली)ले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र आफ्नो आम्दानी पनि बढाउने अभियानमा लागेकी गङ्गाले भविष्यमा अझै बीमाको दायरा वृद्धि गरेरै छाड्ने प्रतिवद्धता र आत्मविश्वास व्यक्त गरेकी छिन् ।

नेशनल लाइफ इन्स्योरेन्सकी चिफ विजनेश म्यानेजर गङ्गा शर्मा (पराजुली)सँग बीमा पोष्टका लागि राजन कठायतले गरेको कुराकानीमा आधारित प्रस्तुत विचारः

One thought on “सरकारी जागिर छोडेर दुई दशकदेखि निरन्तर बीमा व्यवसायमा चम्किदै गंगा शर्मा पराजुली

  1. दिपेन्द्र प्रकाश भण्डारि says:

    जिबन बिमा राजमार्गको यात्रा हो ।जहा फराकिलो आरामदायि र सुरक्षित मार्ग छ त्यसै गरि जिबन बिमा पनि आफु र आफ्नो परिवारको सुन्दर भबिष्यनिर्माणको आधार हो।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*