काठमाडौंमा भीषण बाढी, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बल्खु खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो रहेका छन् ।
बुधबार बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको हो । गएराति परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरूमा बाढी आएको छ ।
ललितपुरको च्यासलस्थित बागमती नदीको पुल माथिबाटै बाढी बगेको छ । अहिले सो क्षेत्रमा बाढीको सतह घटे तापनि हिलाम्मे भएकाले हिँडडुल गर्न नसकिने अवस्था रहेको छ ।
सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्रमा पनि बाढी पसे हिलाम्मे भएको छ । ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ । कालिमाटी तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति र्पुयाएको छ ।
भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढी पसेर क्षति पुर्याएको छ । काठमाडौंको बाफल क्षेत्र पनि डुबानमा परेको छ । बाफलस्थित ज्ञानोदय स्कुलभित्र भल पसेपछि आज बिदा दिइएको छ ।
प्रहरीले उपत्यकाका विभिन्न स्थानहरूबाट बाढीमा फसेकाहरूको उद्धार गरिरहेको छ ।