५ गुणाले बढ्यो नक्कली नोटको बिगबिगि, अर्थतन्त्रलाई नै धरापमा पार्ने खोटा चलन नियन्त्रणमा उदासिन सरकार

दिपक विष्ट
१५ श्रावण २०८१, मंगलवार १८:२८

काठमाडौँ । नेपाली अर्थतन्त्रलाई सखाप पार्ने गरी नक्कली नोटको बिगबिगी बढ्दै गएको छ । दिनानुदिन अर्थतन्त्रलाई नै धक्का दिने नक्कली नोट राजधानीबाटै बरामद भइरहेका हुन् । नेपाल प्रहरी र सरकारलाई समेत खोटा चलन नियन्त्रणको विषय निकै चुनौतिपूर्ण बनिरहेको छ ।

नक्कली नोटले अर्थतन्त्रलाई प्रभाव मात्र होइन नेपाली पैसालाई नै कमजोर समेत बनाउँदै लगि रहेको अवस्था छ । छिटो धनि बन्ने सपनाले कयौं मान्छेले यस्ता कार्य गरी रहेको पाइन्छ भने कतिले नोट नै नचिनेर फन्दामा पर्ने गरेका छन् । यस्तो कार्य धेरै जस्तो सीमावर्ती क्षेत्रमा हुने गरेको पाइन्छ । भारतीय सीमावर्ती क्षेत्रका जिल्लाहरुमा ठुलो परिमाणमा नक्कली नेपाली नोट फेला पर्नेक्रम बढेको भन्दै कारोबार गर्ने ठुलो गिरोहनै सक्रिय रहेको हुनसक्ने प्रहरीको आशंका छ ।

अझ यता ग्रामिण भेगमा नक्कली नोटको बिगबिगी समेत बढ्दो क्रममा रहेको छ । गाउँ घरका किराना पसल हुँदै ग्रामिण भेगका आम सर्वसाधारणका हातसम्म नक्कली नोट पुग्न थालेको छ । जुन प्रहरी प्रशासनका लागि निकै चुनौतिको विषय बनि रहेको हो ।

एक वर्षमा प्रहरीले पाँच करोड भन्दा बढी नक्कली नोट बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता डा डीआईजीपी दानबहादुर कार्कीले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा प्रहरीले पाँच करोड २७ लाख ५९ हजार १११ रुपैयाँ बरामद गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा ४३५.९१ प्रतिशत अर्थात् ५.३५ गुणाले बढी हो । अघिल्लो आर्थिक वर्षमा प्रहरीले ९८ लाख ४४ हजार ७०१ रुपैयाँ बरामद गरेको हो ।

गत आर्थिक वर्षमा नेपाली रकम पाँच करोड ८ लाख ७३ हजार रुपैयाँ, भारतीय रुपैयाँ ७० हजार २७२ रुपैयाँ र अमेरिकी १८ लाख १५ हजार ८३९ रुपैयाँ प्रहरीले बरामद गरेको हो । नक्कली नोट कारोबार गर्ने १६४ जनालाई गत आर्थिक वर्षमा प्रहरीले नियन्त्रणमा लिएको छ । अघिल्लो आर्थिक वषएमा भने १३७ जना नक्कली नोटको कारोबार गर्ने ब्यक्ति पक्राउ परेका थिए । पछिल्लो समयमा यस्तो कारोबार युवा अर्थात् १६ वर्षदेखि ३० वर्षका ब्यक्तिले बढी गर्ने गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी नक्कली नोट बजारमा आउन नदिनको लागि निकै सक्रिय भएर लागि परेको प्रहरी प्रवक्ता कार्कीले बताए । एक दुई ठाउँबाट नक्कली नोटको केश आउने बित्तिकै प्रहरीले थप सक्रिय भइ विभिन्न ठाउँमा छापा हान्नेदेखि अनुसन्धानलाई थप तिब्रता दिइ रहेको छ । पछिल्लो समय नक्कली नोट मात्र नभइ नक्कली पैसा बनाउन प्रयोग गरीने कागज, मिसेन देखि र विदेशी डलर समेत फेला पर्ने गरेको छ ।

प्रहरीको सक्रियताबीच पनि नक्कली नोटको कारोबार गर्ने गिरोह पत्ता लगाउन सकस परी रहेको छ । सूचनाका आधारमा मात्र प्रहरी परिचालन हुँदा गोप्य तरिकाले नेपाली बजारमा नक्कली नोट छापछापी रहेको शंका हुन थालेका छन् । बजारमा नक्कली नोटको कारोबार चलि रहदा राज्यले अभिभावकीय भुमिका खेल्न सकेको छैन । राज्यनै उदासिन भएपछि नक्कली नोटले अर्थतन्त्रलाई नै धरापमा पार्ने त होइन भन्ने प्रश्नहरु खडा हुन थालेका छन् ।

देखिदैन राष्ट्र बैंकको अभिभावकिय भुमिका

नक्कली नोट सम्बन्धी जति प्रहरीले अनुसन्धान गर्नुपर्ने हो त्यो भन्दा बढी नेपाल राष्ट्र बैंकले गर्नुपर्छ । तर, नक्कली नोटको कारोबार रोक्न नेपाल राष्ट्र बैंकको भुमिका अभिभावकीय देखिदैन । केन्द्रीय बैंकले नक्कली नोट सम्बन्धी कारोबार बढ्न नदिन बैंकहरु मार्फत ग्रामिण भेगहरुमा जनचेतना मुलक कार्य गराउने र प्रहरी तथा सरकारसँग समन्वय गर्नुपर्दछ । तर, राष्ट्र बैंक नक्कली नोट बजारमा आउन नदिने विषयमा मौन भएको देखिन्छ ।

यता, राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल भने नेपाली रुपैयाँमा बलियो फिचर रहेको बताउँछन् । उनले भने, ‘हाम्रो विभिन्न नोटहरुमा अनेकौ किसिमका बलिया फिचिरहरु रहेका छन् । नेपाली रकममा रहेका सेक्युरिटी फिचरहरु अन्य देशको जस्तै तथा अझ प्रतिस्पर्धी रहेका छन् । यति हुँदाहुँदै समेत हामीले नक्कली नोटको कारोबार सुनी रहेका हुन्छौं ।’

राष्ट्र बैंक गिरोहहरुले नेपाली रकम के कति कारण नक्कली बनाइरहेको हुन्छन् भन्ने विषयमा राष्ट्र बैंकले बेला बेला अध्ययन गरी रहेको पौडेलको भनाइ रहेको छ । ‘नक्कली नोट भेटाएपछि कारबाहीका लागि सिफारिस गर्ने तथा नोटको पहिचान गर्ने काम केन्द्रिय बैंकले गरी रहेको हुन्छ । नोट पहिचान गर्दा कुनै कमजोर फिचर छ भने पनि हामी बलियो फिचर बनाउछौ । त्यसमा हामीले अनुसन्धाान समेत गरी रहेका हुन्छौ । तर अहिलेसम्म यस्तो केस आइसकेको भने छैन । फिचर कमजोर भएर हाम्रो नोट नक्कली कारोबार भएको हैन भन्ने विषयमा हामी ढुक्क छौं’ पौडेलले भने ।

बैंकहरुमा नक्कली नोटको गुनासा नआएपनि नक्कली नोट साट्न आउनेहरुको संख्यामा वृद्धि भइरहेको पौडेलले बताए । उपत्यकादेखि उपत्यकाभन्दा बाहिरका कार्यालयमा पनि नक्कली नोट साट्ने आउने गरेको उनको भनाइ छ ।

७ वर्ष जेलदेखि ७० हजार जरिवाना

नक्कली नोटसहित पक्राउ पर्ने ब्यक्तिलाई नोटको मात्रा हेरी ७ वर्षसम्म जेल र ७० हजारसम्म जरिवाना हुने अभिवक्ता पूर्ण प्रसाद हमाल बताउछन् । ‘नियामक निकायले निकालेको जस्तै देखिने नक्कली नोट कसैले पनि चलनचल्ती, निकासी, पैठारी, खरिद, बिक्री गर्नु हुँदैन यदि यस्तो गरेको पाइएका त्यो ब्यक्ति प्रक्राउ पर्छ । नोटको मात्रा हेरी ७ वर्षसम्म जेल र ७० हजारसम्म जरिवानाको ब्यवस्था छ’ ढकालले भने ।

कसैले दिएको नक्कली नोट थाहा नपाएर कारोबारमा ल्याउने ब्यक्ति पनि प्रक्राउ पर्ने अधिवक्ता ढकालले बताए । ‘कसैले नक्कली नोट दियो । त्यो नक्कली नोट हो भन्ने आफुलाई थाहा भएन । त्यहि पैसाले बजारमा किनमेल गर्दा थाहा पायो भने त्यो ब्यक्ति पक्राउ पर्छ’ उनले भने,– ‘अनुसन्धान पछि अरुले दिएको प्रमाणीत भएपछि मात्र निर्दोष सावित हुन्छ ।’

साथै, नक्कली नोट बनाउने मेशन राख्न तथा कुनै कम्पनीले नक्कली नोट समेत बनाउन नपाउने ब्यवस्था रहेको छ । यदि यस्तो काम भएको पाइएमा पनि ७ वर्ष कैद र ७० हजार जरिवाना हुन्छ । बरामद भएको पैसा नेपाल राष्ट्र बैंकको रोहबरमा जलाउने गरेको छ ।

जाली नोटको पहिचान कसरी गर्न सकिन्छ ?

नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । जस्तैः सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिंदैन । सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा NRB लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ ।

सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*