सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँड हुँदै
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज साउन १६ गते बाँडफाँड हुँदैछ। एफपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ८ बजे बाँडफाँड गरिने भएको हो।
यस कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म एफपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। सो अवधिमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यसबाट २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ संकलन भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ निष्काशन गरेको हो। जसअन्तर्गत ४ हजार ६७२ जनाले १०।१० कित्ता शेयर पाउनेछन् । सोहीमध्येका ९ जना भाग्यशालीले थप १।१ कित्ता गरी ११ कित्ता पाउनेछन्। कम्पनीको एफपीओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको भने हात रित्तो हुने देखिएको छ।
साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेको छ। राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो।
कम्पनीले एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आईएस) डबल बी इस्योर’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।