कृषि बीमा गर्ने कृषकको संख्या न्यून

१३ श्रावण २०८१, आईतवार १३:०२

काठमाडौं । जलवायु परिवर्तनका कारण मौसममा हुने उतारचढावका कारण किसानहरूले वर्षैपिच्छे क्षति बेहोर्ने गरेका छन् । अतिबृष्टी, अनाबृष्टी, अल्पबृष्टी, बाढी, पहिरो, असिना, डढेलो, रोगब्याधी आदि जस्ता जोखिमबाट नेपालमै ठूलो मात्रामा बालीनालीको क्षति हुने गरेको छ ।

यी तथा यस्ता प्रकारका जोखिमबाट सुरक्षा प्रदान गर्न कृषि बीमा कार्यक्रम ल्याइएको हो । किसानलाई जोखिमबाट सुरक्षा प्रदान गर्ने तथा क्षतिको भरपाई गर्ने र व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यका साथ २०६९ मा ‘बाली तथा पशुपक्षी बीमा निर्देशिका-२०६९’ जारी गरेर कृषि बीमाको शुरूवात गरिएको थियो । यसरी बीमा कार्यक्रम लागू भएको लामो समय व्यतित भइसकेको छ । तर पनि किसानहरूमा यसप्रति आकर्षण बढेको भने देखिदैन् ।

नेपाल बीमा प्राधिकरण धनगढीका अनुसार गत आर्थिक वर्ष (आव) मा जम्मा २३ जनाले कृषि (बाली) बीमा गरेका छन् । यस आवमा एक जनाले किवी र २२ जनाले सुन्तला बीमा गरेका छन् । उनीहरूले ७६ लाख ९६ हजार ९० रुपैयाँ ३७ पैसा बराबरको बीमा गरेका हुन् । गत आवमा भएको कृषि बीमा अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी भए तापनि यसतर्फ सर्वसाधारणको आकर्षण जुन मात्रामा बढ्नुपर्ने थियो त्यो मात्रामा भने नबढेको देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० मा कृषि बीमालेखको संख्या १० मात्रै थियो । १० ओटा बीमालेखमा एक जनाले सुन्तला, एकजनाले आलु, दुई जनाले धान र बाँकी सहकारीहरूले विभिन्न अन्नबालीको बीमा गरेको पाइएको छ । यस वर्षको जम्मा बीमा रकम १ करोड ४५ लाख ७२ हजार रुपैयाँ बराबर थियो । नेपाल बीमा प्राधिकरण धनगढीको तथ्यांकमा आव २०७८/७९ मा कृषि (बाली) बीमा गर्नेको संख्या शून्य रहेको देखिन्छ ।

बाली बीमा गर्न कम्तीमा दुई रोपनी जग्गामा खेती गरेको र जग्गाधनी पुर्जा हुनुपर्नेजस्ता शर्तहरू रहेका छन् । केही किसान बीमा गर्न चाहने भएपनि आवश्यक प्रक्रिया र शर्त पूरा नहुनाले बीमा गर्न पाएका छैनन् । बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण पनि कृषि बीमामा कृषकको रुची नबढेको पाइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*