मौद्रिक नीतिले पुँजीबजारमा थप्यो रौनक, ‘बजार अब बुलको यात्रामा जान्छ’

दिपक बिष्ट
११ श्रावण २०८१, शुक्रबार १६:४१

काठमाडौँ । नयाँ सत्ता समीकरणपछि शेयर बजारमा निरन्तर आइरहेको रौनकमा चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीतिले थप बल पुराएको छ । मौद्रिक नीति मार्फत गरिएका ब्यवस्थाले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो ।

लगानीकर्ताले लामोसमयदेखि उठाउँदै गएको संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको क्याप खारेजको माग नेपाल केन्द्रीय बैंकले सम्बोधन गरेको छ । शेयर बजारमा लगानी गर्नेलाई स्थापित भएका संस्थागतमा लगाएको क्यापको विषयमा पछिल्लो समय चौतर्फी बिरोध भइरहेको थियो । पुँजी बजार विस्तारका लागि ठुलो भुमिका खेल्ने संस्थागत लगानीकर्तालाई कर्जामा लगाएको क्याप खारेज हुँदा बजारले बुलको यात्रा तय गर्ने आंकलन हुन थालेको छ ।

केन्द्रीय बैंकले तुलनात्मक रुपमा निकै लचिलो र खुकुलो मौद्रिक नीति सार्वजनिक गरेको हो । नीतिले ब्याजदर थप घटाउने र कर्जा प्रवाह बढाउने देखिएको छ । नीतिगत दर र बैंक दर थप घट्ने भएको छ । शेयर बजारको शत्रु मानिने बैंकको ब्याजदर घट्ने हुँदा बजारले आगामी दिनमा नयाँ रेकर्ड राख्ने सुनिश्चित नै देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको, ब्याजदर सस्तो भएको अवस्थामा कर्जा विस्तार गर्ने नीति केन्द्रीय बैंकको रहेको छ ।

यता, लामो समयदेखि समस्याग्रस्त भएका बैंकहरुको लगानी विस्तारमा समेत मौद्रिक नीतिले जोड दिएको छ । यसैगरी, लघुवित्त तथा सहकारी क्षेत्रका समस्या समाधान गर्नेतर्फ पनि नीति केन्द्रित देखिएको छ ।

शेयर लगानीकर्ताका लागि शेयर धितो कर्जाकोजोखिमभार र तथा व्यक्तिगत लगानीकर्ताको १५ करोडको सीमा कर्जाको सीमा बढाउने सम्बन्धमा सर्कूलरमा केही नयाँ व्यवस्था हुन पनि सक्छ वा अहिलेकै प्रावधानले निरन्तरता पाउन पनि सक्नेछ । यसका लागि अब सर्कूलर जारी हुने समयसम्म पर्खिनुपर्ने हुन्छ ।

के भन्छन लगानीकर्ता ?

इन्भेष्टर्स फोरमा पूर्वअध्यक्ष छोटेलाल रौनियारले पनि मौद्रिक नीति समग्रमा लगानीकर्तामैत्री आएको बताए । उनले भने, ‘बैंकको ब्याजदर घटाउँदै लैजाने नीति मौद्रिक नीतिले लिएको छ । यता, २० करोड सीमा खारेज भएको छ । जसले पुँजीबजारलाई चलयमान बनाउनेछ ।’

लगानीकर्ताले उठाएका सबै माग सम्बोधन नभएपनि मौद्रिक नीतिले बजारलाई लयमा ल्याउन मद्दत गरेको उनले बताए । ‘हामीले मौद्रिक नीति मार्फत ३ वटा मुख्य माग राखेका थिए । जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशत र ब्यक्तिगत तर्फको १५ करोडको क्याप खारेजको माग सम्बोधन भएन तर मौद्रिक नीति मार्फत लिएको ब्यवस्थाले बजारलाई लयमा ल्याउन मद्दत गर्नेछ’ उनले भने ।

लगानीकर्ता राधा पोखरेल पनि तीन वर्षदेखि चेपुवामा रहेको बजारलाई चलयमान बनाउन राष्ट्र बैंकले चालेको कदम स्वागतयोग्य रहेको बताइन् । उनले भनिन् ‘राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीति व्यक्तिगत कर्जाको सीमा भने यथावत राखी सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको छ । जसले गर्दा बजारमा रौनक देखिने छ ।’

यस वर्षको मौद्रिक निति साबिकका बर्षहरुको भन्दा उत्साह जनक रहेको पोखरेलले बताइन् । ‘बिगत ३ बर्ष देखि निरन्तर घटिरहेको शेयर बजारलाई चालु आबको मौद्रिक नीतिले मल्हमपट्टी लगाउने छ’ पोखरेलले भनिन् ।

अर्का लगानीकर्ता तुलसीराम ढकाल पनि बजारले सकारात्मक लय लिने तर्क राखे । उनले भने, लगानीकर्ताले राखेका माग सम्बोधन हुन सकेनन् । कम्पनी खोले बस्ने मान्छेलाई बढी राहत भयो । तर समग्रमा हेर्दा बजारले नयाँ गतिले देखिन्छ ।

बैंकको ब्याजदर घट्ने कुराले पुँजीबजारमा थप उत्साहको माहोल सिर्जना हुने उनले बताए । ‘बैंकको ब्याजदर घट्ने नीति मौद्रिक ब्यवस्थामा रहेको छ । यता, बैंकको नाफा समेत बढ्ने भएको छ । यसले पुँजी बजारका लागि सकारात्मक सन्देश हो’ उनले भने, ‘दुई वटा माग ब्यक्तिगत लगानीकर्तामा लगाएको क्याप र जोखिमभार घटाउनु पर्ने कुरा सम्बोधन भएन् ।यी बाहेक अन्य सबै कुरा बजार चलयमान बनाउने वाला छन् ।’

लगानीकर्ता केशब कोइराला भने सस्थागत लगानीकर्ताले लिने ऋणको सिमा हटाउने राष्ट्र बैंकको निर्णय उत्कृष्ट रहेको बताउँछन् । उनले भने, ‘संस्थागतमा लगाएको क्याप हटाउने कुरा राम्रो हो । अब ऋण धेरै लिनेहरुले कम्पनी खोल्ने हो । लगानीकर्ता र राज्य दुबैलाइ फाइदा हुन्छ । यो शुरुआत हो । अब हरेक त्रैमासिक समिक्षामा धमाका हुँदै जानेछ ।’

सरकारले लिएको आर्थिक वृद्धिदरलाई सहयोग पुग्ने गरी मौद्रिक नीति आएको हुँदा बजारले सकारात्मक यात्रा नै तय गर्ने अर्का एक लगानीकर्ताले बताए । उनले भने, ‘शेयर बजारलाई चलयमान हुने गरी, बैंकको नाफा बढ्ने गरी मौद्रिक नीति आएकोछ ।’

ब्यक्तिगत तर्फको क्याप नहटाउनु पनि राम्रो नै रहेको उनले बताए । ‘ब्यक्तिले ठुलो जोखिम उठाउन सक्दैन । १५ करोडको सीमा नहटाउनु पनि राम्रै नै हो’ उनले भने ।

लगानीकर्ता सुरेन्द्र महर्जनले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जाँदाजाँदै मुलुकको अर्थतन्त्रको ऐनाको रुपमा लिईने पूँजी बजारलाई लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्न संस्थागत लगानीकर्ताहरूका लागि लगाईएको २० करोडको सीमा हटाएको बताए । उनले भने, ‘सीमा हटाउने निर्णय शेयर लगानी मैत्री निर्णय हो । मौद्रिक नीति मार्फत शेयर लगानीकर्ताहरुको गिरेको मनोबल उकास्न सफल भएको छ। नेपाल राष्ट्र बैंकको मौद्रिक नीति हालसम्मकै लगानीमैत्री एवं उत्साहित भएकाले मौद्रिक नीति स्वागत योग्य छ। नेप्सेको अबको उडान गतव्य ४००० बिन्दूमा पुग्ने निश्चित भएको छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*