हत्या आरोपका कुर्मी र गुन्डा नाइके राणा लुम्बिनीमा मन्त्री
काठमाडौँ । लुम्बिनी प्रदेशमा अपहरण गरी हत्या मुद्दामा अनुसन्धानमा तानिएका सांसद मन्त्री बनेका छन् । कांग्रेसले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मीलाई बुधबार विनाविभागीयमन्त्री बनाएको हो ।
उनी नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा प्रहरी अनुसन्धानको घेरामा रहेका व्यक्ति हुन् । महिला अधिकारकर्मी रुवि खानले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै आएकी छिन् ।
गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको नेतृत्वमा गठित छानबिन समितिले बादशाहमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
यता, गुन्डा नाइके’ पृष्ठभूमिका रोज राणा भनिने सरोज थापा पनि मन्त्री बनेका छन् । थापा यसअघि डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा पनि उद्योग तथा यातायात व्यवस्थामन्त्री थिए ।
आवरणमा चलचित्र निर्माता र निर्देशक भनेर चिनिए पनि थापा केही समयअघिसम्म गुन्डागर्दीमा सामेल थिए । काठमाडौंका डान्सबारमा युवतीलाई जबर्जस्ती नग्न नृत्य गराएको अभियोगमा समेत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनी ५ पटकसम्म पक्राउ पर्दै छुट्दै गरेको प्रहरी रेकर्ड छ । उनी गुन्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’ सँग नजिकका ब्यक्ति हुन् । उनीहरुको पहुँचमा उनले गुण्डागर्दी गर्दै आइरहेका थिए ।