१५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ३० दिने अल्टिमेटम
१० श्रावण २०८१, बिहीबार १०:४५
काठमाडौँ । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि उक्त कार्यालयले सो कार्यका लागि प्रक्रिया शुरु गरेको हो ।
उक्त कार्यालयले बिहीबार प्रकाशित गरेको सूचना अनुसार पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नआएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।
साथै उक्त कार्यालयले ती कम्पनीलाई अझै सात दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यो अवधिमा लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।