काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त, क्षणभरमै जलेर खरानी
काठमाडौं । काठमाडौंबाट पोखरा रुटमा उडान भर्दै गरेको सौर्य एयरलाइन्सको सिआरजे जहाज आज विहान ११ः०० बजे त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त हुन पुगेको छ । सौर्य एयरलाइन्सको ९एन एएमआई कल साईन भएको जहाज कोटेश्वर (०२) तर्फबाट धावनमार्ग (२०) मा पुगेर टेकअफ गर्ने वित्तिकै स्टल भएर दुर्घटनाग्रस्त हुन पुगेको हो ।
कूल १९ सिट संख्या भएको जहाजमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन । प्रारम्भिक रुपमा धावनमार्गको मध्यबाटै टेकअफ लिएको जहाज गोठाटारतर्फको धावनमार्ग सकिने वित्तिकैको खाल्डोमा खस्न पुगेको थियो । स्थानीय प्रत्यक्षदर्शी समिप श्रेष्ठले जहाज विमानस्थल परिसरको उत्तरपूर्व तर्फको सानो ढिस्कोमा ठोक्किएर तल जमिनमा बजारिन पुगेको र सो क्रममा घाइतेहरु जहाजबाट बाहिर खसेको जनाएका छन् । जहाजको दुई टुक्रा भएर दुई स्थानमा आगो लागेको देखिएको छ ।
जहाज जमिनमा बजारिए लगत्तै आगलागी सुरु भएको थियो । धुवाको मुस्लोले धावनमार्ग भरिएको थियो । लगत्तै विमानस्थलमा रहेको दमकल पुगेर आगो निभाउने प्रयास गरेका थिए । तर आगो निभाउन करिब आधा घण्टाभन्दा बढि समय लागेको कारण यात्रुहरुको अवस्था अहिले यकिन गर्न सकिने स्थिति छैन ।
दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । घट्नामा करोडौं रुपैयाँको बीमा दावी पर्नेछ । सो जहाजको इन्जिनको अवधी अनुसारको मूल्य र यात्रु समेतका आधारमा ५० करोड भन्दा माथि नै बीमा दावी पर्ने देखिएको छ ।
तस्विर सौजन्यः जेट फोटो