स्टार माइक्रो इन्स्योरेन्स प्राइस कटिङमा, स्वयम्भूमा कमिशनको खेल बढ्दै

८ श्रावण २०८१, मंगलवार ११:०४

काठमाडौं । गरिब र न्यून आय भएका जनताको घर-घरमा पुगेर लघुबीमा गर्छु भन्दै लाइसेन्स लिएका लघुबीमा कम्पनीहरुले यातायात कार्यालयको दैलोमा शाखा स्थापना गरेर बिचौलियाहरुलाई कमिशनको प्रलोभन देखाएर तेस्रो पक्ष बीमा तान्न व्यस्त देखिएका छन् ।

काठमाडौंको स्वयम्भुस्थित ठूलो भर्याङमा रहेका स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले पनि यस्तै खालेधन्दा चलाउन थालेको छ । भर्खरै लाइसेन्स पाएर कारोबार सुरु गरेका कम्पनीहरुले पुराना कम्पनीहरुलाई चुनौति दिँदै प्राइस कटिङ (अघोषित रुपमा) गर्न थालेका छन् । जसका कारण ठूलो भर्याङबाट हुँदै आएको तेस्रो पक्ष बीमामा अस्वस्थ प्रतिस्पर्धा हुन पुगेको छ ।

अन्य  बीमा कम्पनीका कर्मचारी तथा लेखापढी व्यवसायीहरुले स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले तेस्रो पक्ष बीमाको लागि कमिशन दिएर व्यवसाय किन्ने गरेको आरोप लगाएका छन् । बीमापोष्टको सम्पर्कमा आएका एक बीमा कम्पनीका कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा स्टार माइक्रो इन्स्योरेन्सले तेस्रो पक्ष बीमाको लागि बीमा पोलिसी काट्न आउने व्यक्तिलाई दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म हरेक साँझ कमिशन दिने गरेको बताए ।

एक जना लेखापढी व्यवसायीका अनुसार म्यानपावर कम्पनीले झै स्टार माइक्रो इन्स्योरेन्सले कमिशन दिने धन्दा चलाएर यातायात कार्यालयका सहयोगीहरुलाई नै कमिशनको खेलमा फसाएको आरोप लगाए ।

बीमापोष्ट प्रतिनिधि पुग्दा उक्त कम्पनीमा बीमा पोलिसी काट्न भ्याई नभ्याई थियो भने अन्य बीमा कम्पनीहरुका काउन्टर खाली थिए । साढे दुई अर्ब चुक्ता पुँजि र दावी भुक्तानी समेत छरितो गर्ने बीमा कम्पनीहरुका काउन्टर खाली र भर्खरै आएको जम्मा ५२ करोड चुक्ता पुँजि भएका साना बीमा कम्पनीको काउन्टरमा भिडभाड देखिएको थियो ।

ठूलो भर्याङस्थित यातायात कार्यालयमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट लगायतका बीमा कम्पनीहरुका शाखा कार्यालय (काउन्टर) रहेका छन् ।

जम्मा ५२ करोड ५० लाख चुक्ता पुँजि भएका लघु बीमा कम्पनीहरुले हजारौंको संख्यामा तेस्रो पक्ष बीमा गर्दा जोखिम भार बहन क्षमताको अर्को प्रश्न पनि सँगै उठेको छ । नियामक निकाय बीमा प्राधिकरणले नै सेटिङमा लाइसेन्स दिएकोले लघु बीमा कम्पनीहरुको व्यापार खोजिदिने काम समेत प्राधिकरणबाटै हुँदै आएको छ । गाउँ गाउँमा गएर कृषि बीमा गर्ने शर्त राखेर लाइसेन्स पाएका लघु बीमा कम्पनीहरुलाई सरकारले अनिवार्य गरेको यातायात कार्यालयको गेटमा काउन्टर राखेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिन भने छुट पाउँदै आएका छन् ।

उता यातायात कार्यालय गुर्जुधारामा पनि स्टार माइक्रो इन्स्योरेन्स अस्वस्थ्य प्रतिस्प्रर्धामा उत्रिएको गुनासो प्राप्त भएको छ । गुर्जुधारामा पनि स्टार माइक्रो इन्स्योरेन्सका कर्मचारीहरुले आम नागरिकहरुलाई विभिन्न प्रलोभन देखाउँदै आफ्नो काउण्टरमा बीमा गर्नको लागि बाध्य बनाउदै सेवाग्राहीको गुनासो रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*