सर्वाधिक कमाई हुने एक्चुअरिअल साइन्स विषयमा भर्ना खुल्यो, कति चाहिन्छ शौक्षिक योग्यता ?

६ श्रावण २०८१, आईतवार १४:११

काठमाडौं । विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रूपमा परिचित एक्चुअरिअल साइन्स विषयमा भर्ना खुलेको छ । भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ एक्चुअरी हो । विश्वमै उत्कृष्ट पेशाको रूपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शून्य अवस्थामा रहेको छ ।

एक्चुअरीको अभावले नेपालका बीमा कम्पनीहरूलाई समयमै प्रतिवेदन तयार पार्न समस्या हुने गरेको छ । त्यस्तै एनएफआरएस प्रणालीमा प्रतिवेदन निकाल्नुपर्ने र विगतभन्दा चुक्ता पूँजी कोष समेत बृद्धि भएकाले बैंक तथा बीमा कमपनीहरूमा एक्चुअरीको अभाव हुँदै गएको छ ।

बीमा व्यवसायका महत्वपूर्ण कार्य बीमालेख तयार, बीमाशुल्क निर्धारण, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन सहित बीमितलाई प्रदान गर्ने बोनसदर निर्धारणका लागि समेत एक्चुअरीको आवश्यकता पर्ने गर्दछ ।

जीवन बीमा कम्पनीका लागि बीमाङ्कीय मुल्याङ्कन अपरिहार्य रहेको छ भने निर्जीवन बीमामा समेत यसको आवश्यकता पर्ने गर्छ । बीमा बाहेक बैंक, सञ्चयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका साथै लगानी व्यवस्थापन गर्ने निकायहरूमा पनि एक्चुअरीको आवश्यकता पर्ने गर्छ ।

नेपालमा पहिलो पटक गणित विज्ञान स्कुलले २०७३ सालदेखि एक्चुअरीअल साइन्स विषयकोे पठनपाठन शुरू गरेको छ । यस स्कुलबाट अहिलेसम्म स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूमध्ये केही उच्च शिक्षा हासिलका लागि अमेरिका, यूरोप, अस्ट्रेलिया गएका र धेरैजसो विद्यार्थीहरू नेपाल तथा भारतका विभिन्न कम्पनीहमा कार्यरत रहेको कार्यक्रम संयोजक केशव राज फुलाराले बताए ।

कक्षा १२ को नतिजा प्रकाशित भएपछि विद्यार्थीहरूमा के पढ्ने र कता पढ्ने भन्ने अन्यौलता रहन्छ । केही विद्यार्थी नेपालमा भविष्य छैन भन्ने सोचका कारण विदेश जाने तयारी गरिरहेका छन् भने केहीले नेपालमै पढ्ने योजनाका साथ अनेक विषय वा कार्यक्रमका बारेमा बुझ्न थालेका छन् । यसमा विभिन्न विश्वविद्यालयका अनेक कार्यक्रम जस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गत गणित विज्ञान स्कुलले सञ्चालन गरेको एक्चुअरीअल साइन्स कार्यक्रम पनि विद्यार्थीका लागि राम्रो गन्तव्य हुनसक्छ ।

जुनसुकै धारबाट प्लस टू वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको गणित वा वाणिज्य गणित विषयमा कम्तिमा ‘सी’ ग्रेड सहित न्यूनतम १.८ जीपीए वा दोश्रो श्रेणीमा उत्र्तीण गरेकाले यो विषय लिन पाउछन् ।

यसमा प्रवेश परीक्षा अन्तर्गत लिखित, अन्तर्वार्ता र शैक्षिक योग्यताको आधारमा नयाँ भर्ना लिइनेछ । पहिलो चरणमा आवेदन दिएका सम्पूर्ण विद्यार्थीलाई ८० पूर्णाङ्कको लिखित परीक्षामा समावेश गराइनेछ । उक्त लिखित परीक्षामा ३५% अंकसहित उत्तीर्ण हुनेले अन्तर्वार्ता र शैक्षिक योग्यता बापतको मूल्याङ्कनमा सामेल हुन पाउनछन् । तीनवटै परीक्षाको आधारमा मेरिट लिस्ट तयार गरिने र यसैको आधारमा निर्धारित ४० जनाको सिटमा ८०% खुल्लाबाट र २०% समावेशी कोटाको आधारमा भर्ना लिइन्छ ।

यो कोर्ष पूरा गर्न आठ सेमेस्टरको जम्मा पाँच लाख ३० हजार ६०० रुपैयाँ खर्च लाग्छ । जसमा केही रकम भर्ना गर्दा र बाँकी रकम हरेक सेमेस्टरको शुरूमा नै किस्ताबन्दीको रूपमा तिर्नुपर्छ । यसमा उत्कृष्ट नतिजा प्राप्त गर्ने १–१ जना छात्र र छात्रालाई जेहेन्दार छात्रवृत्ति र १०% विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।

सेमेस्टर प्रणालीअनुसार अध्यापन गराइने यो कोर्षको ४०% आन्तरिक (३० पूर्णाङ्कको) र ६०% (४५ पूर्णाङ्कको) अन्तिम परीक्षा हुनेछ । आन्तरिक परीक्षा अन्तर्गत प्रस्तुतीकरण, गृहकार्य र प्राजेक्ट वर्क लगायत दुईवटा एसिसमेन्ट लिइनेछ ।

यो सेमेस्टरको शुरूमै सम्बन्धित विद्यार्थीलाई शैक्षिक पात्रो दिइनेछ । सोही पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन हुनेछ । अन्य कुरा यथावत रहेमा चार वर्षको कोर्ष ठीक चार वर्ष भित्रै उक्त लेवलको प्रमाणपत्र पाइसक्नेछन् । हरेक सेमेस्टरको अन्तिममा लिइएको जाँचको नतिजा समेत बढीमा एक महिनाभित्रै प्रकाशन भइसक्नेछ ।

2 thoughts on “सर्वाधिक कमाई हुने एक्चुअरिअल साइन्स विषयमा भर्ना खुल्यो, कति चाहिन्छ शौक्षिक योग्यता ?

  1. Anubhab Tamang says:

    Can you give me acturial science entrance syllabus

    1. spandan karki says:

      check this website: https://sms.tu.edu.np

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*