आज गुरु पूर्णिमा, गुरुप्रति आभार व्यक्त गरेर मनाइँदै
६ श्रावण २०८१, आईतवार ०७:३६
काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा पर्व रहेको छ । यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति आभार प्रकट गरेर यो पर्व मनाइँने गरिन्छ ।
महाभारत ग्रन्थका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै व्यास जयन्तीलाई गुरु पूर्णिमाको रूपमा मनाइँने गरिन्छ । वेदव्यासले नै सबै वेद, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थको रचना गरेका थिए ।
गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानतालाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । आजको दिन शिष्यहरूले आफूलाई शिक्षा प्रदान गर्ने गुरुहरूप्रति श्रद्दाभाव प्रकट गर्ने तथा विभिन्न मिष्ठान्न परिकारहरू खुवाएर यो पर्व मनाउने परम्परा रहीआएको छ ।