ओलिले भोलि विश्वासको मत लिने, क-कस्ले दिन्छन् पक्षमा मत ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले भोलि अर्थात् साउन ६ गते विश्वासको मत लिँदै छन् । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक राखिएको छ ।नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
ओलीको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) रहने स्पष्ट देखिएको छ । यता राप्रपाले भने ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टी र मधेशका दलले विश्वासको मत दिने देखिएको छ । एमालेले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन हीप जारी गरिसकेको छ ।