विवादित रिलायन्सको आइपीओ स्वीकृत दिने रानालाई अर्थमन्त्रीले बोलाए फिर्ता, बोर्डको जिम्मेवारीमा महेश बराल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिएका छन् । नयाँ सत्ता समीकरणपछि बनेपछि अर्थमन्त्री पौडेलले बोर्डको जिम्मेवारी बराललाई दिएका हुन् ।
बराल त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीमा रहेका थिए । अर्थमन्त्रालयको जिम्मेवारी समाल्न पौडेल आइसकेपछि विवादित रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ स्वीकृत दिने कार्यबाहक अध्यक्ष नरेन्द्र रानामगरलाई फिर्ता बोलाउँदै बोर्डको नेतृत्वमा बराललाई पठाएका हुन् । बरालले बुधबार कार्यबाहक अध्यक्षको शपथ लिइसकेको छन् ।
बोर्ड अध्यक्ष बराललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरी उनको सफल तथा सुखद कार्यकालको शुभकामना प्रदान गरेका छन् । बोर्ड अध्यक्ष बरालले स्वागत कार्यक्रममा सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिए ।
माओवादी निकट मानिने रानाले घुस सेटिङमा रिलायन्सलाई आइपीओ स्वीकृत दिएको भन्दै चौतर्फी आलोचना भएपछि उनलाई फिर्ता बोलाइएको हो । उनले आइपीओ स्वीकृत दिएको कम्पनी रिलायन्स बारे संसदको सार्वजनिक लेखा समितिले बोर्डलाई स्पष्टिकरण सोधेपछि अहिले सो कम्पनीको आइपीओ प्रक्रिया स्थगत गरीएको छ ।