प्रकृति, समाज एवम् मानव चिन्तनका समग्र क्षेत्रको विकास
विपरीतहरूको संघर्षबाट हुन्छ भन्ने सिद्धान्त ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । द्वन्द्वको नियम सार्वभौम नियम हो । राजनीतिमा द्वन्द्वको नियमको उजागर प्रतिस्पर्धाबाट मात्र हुन्छ भन्ने क.मदन भण्डारीको दार्शनिक दृष्टिकोण हो । हरेक वस्तुभित्र सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । तिनीहरूका बिचमा निरन्तर द्वन्द्व चलिरहन्छ । त्यस्तै राजनीतिमा पनि दुई पक्ष हुन्छन् सार र रूप ।
यी दुई पक्षलाई मूल्याङ्कन गर्दा राजनीति तथा विचारको सारलाई बुझ्नुपर्छ । रूप भनेको उपरिसंरचना तथा संस्कार एवम् राजनीतिक व्यवस्था हो र यसको स्वरूप बहुदलीय हुन्छ । सोही दृष्टिकोणको जगमा जननेता मदन भण्डारीले मुक्तिकामी जनताका सपनाहरू पूरा गर्नुपर्ने ऐतिहासिक कार्यभारलाई हृदयङ्गम गर्दै जबजको विचार प्रतिपादन गर्दै चौतर्फी घेराबन्दीका बिचबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिए । जबजले समाजका तीन चरित्र राजनीति दर्शन, आर्थिक अवस्था र संस्कृतिको ठोस विश्लेषण नवीनतम् चेतनाको निर्माण गरेको छ ।
सामाजिक चरित्र यी तिनै संरचनामा आधारित हुन्छन् जसको गुणात्मक विकाससँगै उत्पादन शक्तिमा व्यापक फेरबदल आउँछ र सामाजिक चरित्रमा नै फेरबदल ल्याउँछ । जबजले सपनाहरू मुर्झाउनु हुँदैन, ती त फुल्नुपर्छ, फक्रनुपर्छ भन्दै सुन्दर जीवनको सपना देखेको छ । तहबाट देखेका मुक्तिकामी सपनाहरू राष्ट्रियता र लोककल्याणका दृष्टिकोणबाट वास्तवमा महान् भव्य अद्वितीय थिए । सबैखालका अन्याय अत्याचार दमन शोषणका विरुद्व सशक्त रूपमा उठेका आवाज तथा संघर्षहरू मानवीय स्वत्वको सवालसँग अन्तरसम्बन्धित थिए ।
ती सबै संघर्ष राजनीतिक वैचारिक, कला साहित्य, सांस्कृतिक एवम् जबजको दार्शनिक मूल्यहरू स्थापित गर्न त्याग बलिदान, शौर्य एवम् धीरताले भरिपूर्ण थिए । जनताले राखेको सुन्दर संसारको सपना धुमिल हुन नदिन जननेता मदन भण्डारीले जबजको सैद्धान्तिक प्रतिवद्धतामार्फत मुक्तिको सपना भुल्न नसकिने प्रण गरेका छन् । जबजको सौन्दर्य माक्र्सवादकै निष्ठा एवम् सिर्जनात्मक विकास हो ।
जबजको सौन्दर्य नेपाली जनताको वर्गमुक्तिको पथबाट, त्याग वीरता एवम् शौर्य धीरताको निरन्तर श्रृँखलाबाट विकसित चेतना हो । जबज सांस्कृतिक साम्राज्यवाद, भूमण्डलीकृत, पूँजीवाद, उत्तरआधुनिकतावाद, दक्षिणपन्थी संशोधनवाद, विमानवीकरण, भ्रष्टीकरणका विरुद्धको वैचारिकी शास्त्रबल हो ।
जबजको सौन्दर्य गतिशील यथार्थ हो । परम्पराहरूसँगै आउने कला साहित्य, संस्कृतिलाई परम्पराको नाममा निषेध होइन तिनको पनि रचनात्मक विकास गरी समाजवादीकरण गर्नुपर्छ भन्ने मान्यता जबजको सौन्दर्य चिन्तन हो । जबजको सौन्दर्यले विद्यमान सौन्दर्यात्मक आदर्श सौन्दर्य मूल्य, सौन्दर्यानुभूतिको सवाललाई नवचेतनाको मार्गदृष्टिबाट विस्तार गरेको छ । जबजको सौन्दर्यशास्त्रीय ज्ञानबोध नेपाली प्रगतिशील, प्रगतिवादी साहित्य, संगीत, नृत्य, चित्र, मूर्ति, स्थापत्य, थ्रियटर चलचित्र कला साहित्यको लागि महत्वपूर्ण छ ।
जबज कतै कविता बनेर, कतै कथा, उपन्यास बनेर, कतै चलचित्रको रिङ बनेर, कतै ललितकलामय बनेर, कतै गीतसंगीत बनेर, कतै प्रगतिशील अपेरा बनेर, कतै सम्पदा संरक्षणको आधारस्तम्भ बनेर, विचार विकास श्रृँखलाको सौन्दर्यमा लहरिएको छ । कलाको मुख्य कार्यभार भनेको जीवन र जगतलाई सौन्दर्यात्मक ढङ्गबाट मूल्यबोध गराउनु हो । कला सौन्दर्यको केन्द्रीकृत अभिव्यक्ति एवम् सामाजिक यथार्थको कलात्मक पुनरुत्पादनको स्वरूप हो । कला ज्ञानको स्रोत हो ।
सत्य, प्रतिवद्धता र पक्षधरता कलाका आवश्यक तत्व हुन् । यो सामाजिक चेतना हो । यसले समाजमा राजनीति, धर्म, संस्कृति, कानुन, दर्शन नैतिक मूल्य तथा कलाका खास धारणाहरूको प्रतिनिधित्व गर्दछ । कला वर्गीय हुने गर्दछ । जबजले कला र राजनीतिलाई पृथक् रूपमा होइन एक अर्कामा अन्तरसम्बन्धित विषयका रूपमा लिने गर्दछ । कलामा संज्ञानात्मक, विचारधारात्मक, सौन्दर्यात्मक पक्षहरू हुन्छन् । संज्ञानात्मकले सत् असत्को उजागर गर्दछ । विचारधारात्मक पक्षले कलाको नैतिक मूल्य, उद्देश्य एवम् आदर्शको व्याख्या गर्दछ । सौन्दर्यात्मक पक्षले विचार र भावनाको संश्लेषण, रागात्मक विम्ब, प्रतीक, अलंकार आदिको संयोजन गर्ने गर्दछ । त्यसैले कलालाई प्रकृति, संस्कृति एवम् समृद्धिको मानवीयचेतनाको विशिष्ट स्वरूप मान्नुपर्दछ ।
नेपाली जनताका मुक्तिकामी सपनाहरू पूरा भएका छैनन् । सामाजिक न्याय र रूपान्तरणले पूर्णता पाएको छैन । समाजको आमूल परिवर्तनमा जबजको विचार दर्शन, कला साहित्य र सौन्दर्य रूपान्तरणका साधन हुन् । जबजको उद्देश्य समानतापूर्ण मानव समाजनिर्माण गर्नु हो, यसको अर्थ समाजवादको लक्ष्य चुम्नु हो । समाजको सर्वतोमुखी सामञ्जस्यपूर्ण आर्थिक, राजनीतिक, सांस्कृतिक विकास जबजको सौन्दर्यशास्त्रको जगमा मात्र सम्भव छ । जबजमा नेपाली माटोको सुगन्ध प्रतिविम्बित छ ।
कला साहित्य क्षेत्रका समग्र पक्षलाई जबजको सौन्दर्यसँग अन्तरसम्बन्धित गराउँदै जनताको वर्गमुक्तिको सपना साकार पार्ने जिम्मेवारी र जबाफदेहिताको उत्कृष्ट उत्तरदायित्व पूरा गर्ने उद्देश्य स्वरूप कला साहित्यमा मदन भण्डारी नामक ग्रन्थ प्रकाशन गर्ने जमर्को गरिएको छ । मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जबज नेपाली वाम आन्दोलनको वस्तुगत यथार्थ एवम् वैज्ञानिक विचारधाराको चिन्तनको पुञ्ज हो । जननेता मदन भण्डारीले नेपाली समाजमा विद्यमान अँध्यारोको विरुद्व उज्यालो पस्किन राजनीति, साहित्य एवम् सांस्कृतिक माध्यमबाट पु¥याउनु भएको विचारधारात्मक योगदानलाई विशेष रूपमा स्मरण गर्दै ऐतिहासिक योगदानलाई ग्रन्थको रूपमा प्रकाशन गर्नु अहिलेको आवश्यकता बोध गरी प्रस्तुत ग्रन्थ प्रकाशन गरेका छौं ।
जबजको वैचारिक सौन्दर्यले विघटन उन्मुख सांस्कृतिक मूल्यहरूलाई संरक्षण, सम्वद्र्धन गरी कला, साहित्यको उदीयमान दर्शन जबजको सौन्दर्य चिन्तन सांस्कृतिक मूल्यहरूको आदर्शलाई समृद्ध बनाउन ऐतिहासिक योगदान दिएको विषयलाई यस ग्रन्थमा महत्वका साथ प्रकाश पार्ने जमर्को गरिएको छ । कला साहित्यमा मदन भण्डारी नामक ग्रन्थमा जबजको प्रभाव गहिरोसँग अनुवन्धित छ र गतिशील यथार्थको प्रतिविम्ब बनाउन मदन भण्डारीले जबजको वैचारिकी महाख्यान सिर्जना गरेर विशिष्ट योगदान दिनुभएको वस्तुगत यथार्थलाई कला साहित्यमा मदन भण्डारीसँग सम्बन्धित सौन्दर्य चिन्तन, जबजको सौन्दर्य चिन्तनसँग अन्तरसम्बन्धित अनुसन्धानमूलक आलेखहरूले प्रस्तुत ग्रन्थमा थप स्पष्ट पार्ने प्रयास गरेको छ । पुरानो जड कुरूप संसार भत्काएर जनचेतनाको समृद्ध नेपाल ः सुखी
नेपालीको कलात्मक इतिहास निर्माणको युगीन कार्य भार पूरा गर्ने हेतु कला साहित्यमा मदन भण्डारी प्रकाशन गरिएको हो । यस ग्रन्थमा समाहित आलेखहरूको अन्तर्वस्तु हेर्दा हामीलाई गर्व लाग्नु स्वाभाविक छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालका उपाध्यक्ष तथा प्रकाशन विभागका प्रमुख एवम् प्रधान सम्पादक आर.सी. न्यौपानेको परिकल्पना, संकलन एवम् सम्पादनमा प्रकाशन हुन गइरहेको कला साहित्यमा मदन भण्डारी नामक ग्रन्थ समाजवादी यथार्थवादी तथा जबजको सौन्दर्य चिन्तनमा आधारित छ । यस ग्रन्थमा समेटिएका अनुसन्धानमूलक आलेखहरूले समाजवादी यथार्थवाद एवम् जबजको सौन्दर्य चिन्तन नवचेतना सौन्दर्यबोध गराएर दर्शन कला साहित्य, विचार, चिन्तन एवम् दर्शनको गहिरो विश्लेषण एवम् संश्लेषणको कार्यभार पूरा गर्ने उद्देश्य राखेको छ । नेपालको राष्ट्रिय राजनीतिमा नवीन क्षितिज उघारेर समाजवादी यथार्थको महाख्यान कला साहित्यमा मदन भण्डारी नामक ग्रन्थले नवसौन्दर्यबोध गराएर यथार्थको विश्लेषण र मूल्याङ्कन गरेको छ । यहाँ नवचेतनाका दार्शनिक जगमा उभिएर कला, साहित्य, संस्कृतिको दर्शन जबजको सौन्दर्यको कलात्मक इतिहास आलोकित गरिएको छ ।
सम्पादनको आलेखमा निहित समालोचना, सौन्दर्य चिन्तनले समाजवादी यथार्थवाद, मदन भण्डारीको कला साहित्यिक यस ग्रन्थमा रहेका लेखकका योगदान तथा जबजको सौन्दर्यको समृद्धतालाई उजागर गराएका छन् विद्वान् मित्रहरूका अनुसन्धानमूलक आलेखहरू बहुआयामिक कोणबाट सजीव तथा सौन्दर्यात्मक रूपमा सुन्दर छन् । यस ग्रन्थमा भाषिक सवालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको नेपाली भाषाको वर्णविन्यासलाई आधार मानी सम्पादन गरिएको छ ।
कला साहित्यमा मदन भण्डारी नामक ऐतिहासिक महत्वको ग्रन्थ प्रकाशनका लागि उत्प्रेरित गर्दै शुभकामना मन्तव्य प्रदान गर्नुभएकोमा सम्माननीय पर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति हृदयदेखी आभार प्रकट गर्दछु ।
प्रस्तुत लेख मदन भण्डारी ग्रन्थबाट लिएका हुन्