सहरी योजना आयोगबाट १ अर्व ७५ करोड लागतका १२५ वटा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार

१ श्रावण २०८१, मंगलवार १८:४८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । यसमध्ये ५८ वटा योजना वडाहरुबाट माग भएर आएका हुन् । सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका १३ वटा, आयोगका ( वटा, सार्वजनिक निर्माण विभागका ६ वटा, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३÷३ वटा छन् । यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १/१ वटा आयोजना छन् ।

‘माग भएका योजनाको डीपीआर नहुँदा विगतमा पुँजीगत खर्च बढ्न सकेको थिएन । अव महानगरपालिकाको पूँजीगत खर्च बढ्नेछ । त्यो समस्या अब सकियो ।’ सम्पन्न डीपीआरका विषयमा प्रतिक्रिया दिँदै आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भने, ‘गएको आर्थिक वर्षमा माग भएका सबै योजनाको डीपीआर सकिएको छ । यसपछि माग भएर आउने योजनाको डीपीआरमा तत्काल काम गर्न सकिन्छ ।’

‘सम्पन्न डीपीआरको कार्यान्वयनबाट मात्र नतिजा मापन गर्न सकिने भएकोले हामी ट्र्याकिङ् प्रणाली बनाउँदैछौँ ’ उपाध्यक्ष भने ‘यो प्रणालीले नतिजा कति प्राप्त भयो, तत्काल हेर्न र भन्न सकिने हुन्छ । योजना कार्यान्वयनमा कुनै समस्या आयो भने तत्काल सम्बोधन गर्न सकिन्छ ।’

‘आएका योजनालाई डीपीआर बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया भएको छ । संरचनालाई मौलिक शैली झल्किने बनाउन भौगोलिक अवस्थासँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था पनि विश्लेषण गरिएको छ ।’ आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराई भने, ‘यसो हुनु भनेको योजना कार्यान्वयन सुनिश्चित हुनु हो । योजना कार्यान्वयन सहज हुनु हो । निर्धारण गरिएको अवधिको सम्पन्न हुने सुनिश्चित हुनु हो । यसले तर्जुमा गरिएका योजना निर्वाध कार्यान्वयनमा आउने वातावरण बन्छ ।’

‘आयोगले तयार पारेका प्रतिवेदनहरु सम्बन्धित वडा र विभागमा पठाइएका छन् । यसलाई सम्बन्धित विभाग र वडाले कार्यान्वयनमा ल्याउनेछन् ।’ आयोगको आगामी तयारीका विषयमा उपाध्यक्ष डा. राजभण्डारी भन्नुहुन्छ, ‘आर्थिक बर्ष २०८१/८२ को बजेटमा समाबेश गरिएका कार्यक्रमलाई भाद्र महिना भित्र डीपीआर सम्पन्न गर्ने तयारी गरेका छौँ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*