बढ्यो मोबाइल बैंकिङ्ग मार्फत हुने भुक्तानी, जेठ महिनामा साढे ३ खर्ब कारोबार
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो क्रममा रहेको छ । मोबाइल बैंकिङ्ग र क्युआर मार्फत हुने कारोबार बढेको निरन्तर बढी रहेको हो ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब बढीको भुक्तानी कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो ११ महिनामा २ करोड ४३ लाख ६३ हजार ७७६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।
जुन अघिल्लो महिनाको तुलनामा १५ अर्ब २२ करोड ९० लाख रुपैयाँले बढी हो । वैशाख मसान्तसम्ममा २ करोड ३७ लाख ९७ हजार ६८० मोबाइल प्रयोगकर्ताहरू मार्फत ३ खर्ब ३६ अर्ब ५ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । मोबाइल बैंकिङ्ग मार्फत एकबाट अर्को बैङ्क खातामा रकम जम्मा गर्ने, पानी/बिजुली/इन्टरनेटको बिल भुक्तानी गर्ने, रिचार्ज गर्न सजिलै सकिन्छ । यसका साथै हवाई टिकट काट्ने, बीमाशुल्क भुक्तानी, क्युआर कोडमार्फत पनि भुक्तानी गर्ने लगायत थुप्रै सुविधा हुन्छन् । सो कारणपनि पछिल्लो समय यसमा आम सर्वसाधारणहरुको आकर्षण थपिदै गएको देखिन्छ ।
अन्य भुक्तानी साधनहरू वालेटहरूबाट भने जम्मा २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको मात्र भुक्तानी कारोबार छ । यो २ करोड ३० लाख ३८ हजार २४० वालेट सेवा प्रयोगकर्ताहरूबाट भएको भुक्तानी कारोबार रहेको केन्द्रिय बैंकले जनाएको छ ।
समीक्षा महिनामा आईपीएसबाट दुई खर्ब १८ अर्ब ९७ करोड रुपियाँ भुक्तानी भएको छ । यो बाहेक डेविट कार्डबाट ९४ अर्ब ७८ करोड, एटीएम विथड्रबाट ९१ अर्ब, क्यूआरबाट ५३ अर्ब ८८ करोड, वालेटबाट २९ अर्ब ३५ करोड र इन्टरनेट बैंकिङबाट १६ अर्ब ३१ करोड रुपियाँ भुक्तानी भएको छ ।