ऋणीहरुको घरजग्गा लिलाम गर्ने विकास बैंकहरुबीच प्रतिस्पर्धा

३० असार २०८१, आईतवार १२:५३

काठमाडौँ । विकास बैंकहरुबीच घरजग्गा लिलाम गर्ने प्रतिस्पर्धापछि गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेर दुई अर्ब ५१ करोड १० लाख रूपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा एक अर्ब ७९ करोड ३० लाख रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो ।

सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति महालक्ष्मी विकास बैंकको रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा महालक्ष्मी विकास बैंकको गैरबैंकिङ सम्पत्ति ५३ करोड ९६ लाख ९० हजार रूपैयाँ पुगेको छ । गत वर्ष सोहि अवधिमामा बैंकको गैरबैंकिङ सम्पत्ति १२ करोड ५० लाख रूपैयाँ थियो । गतवर्ष वैशाख मसान्तमा तीन करोड ३६ लाख रूपैयाँबराबर गैरबैंकिङ सम्पत्ति रहेको नारायणी डेभलपेन्टको बैंकको यस्तो सम्पत्ति अहिले शून्य छ ।

यता, कर्णाली डेलभपमेन्टको गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ । गत आवको १० महिनामा बैंकको सात करोड १८ लाख ९० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।

गत आवमा बैशाख मसान्तसम्ममा १२ करोड एक लाख ९० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको सांग्रिला डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा यस्तो सम्पत्ति बढेर २९ करोड ३१ लाख ६० हजार रूपैयाँ पुगेको छ । साथै, एक्सेल डेभलपमेन्ट बैंकको १५ करोड ७४ लाख रुपैयाँ यस्ता सम्पत्ति रहेको छ ।

मितेरी डेभलपमेन्ट बैंकमा दुई करोड १६ लाख १० हजार रूपैया बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । मुक्तिनाथ विकास बैंकमा भने पछिल्लो अवधिमा २५ करोड ९९ लाख ९० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । गत आवको सोही अवधिमा बैंकमा १८ करोड ५१ लाख ४० हजार रूपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।

गरिमा विकास बैंकको २२ करोड ७५ लाख २० हजार रूपैयाँ, कामना सेवा विकास बैंकको ३२ करोड ४३ लाख ९० हजार रूपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको १३ करोड ३१ लाख रूपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । ज्योति विकास बैंकमा १६ करोड सात लाख ८० हजार रूपैयाँ, शाइन रेशुंगा डेभलपमेन्ट बैंकमा सात करोड ९१ लाख ५० हजार रूपैयाँ, लुम्बिनी विकास बैंकमा २५ करोड ३५ लाख ९० हजार रूपैयाँ, सिन्धु विकास बैंकमा ५ करोड ३० लाख रुपैयाा, साल्पा विकास बैंकमा शुन्य, सप्तकोशी डेभलपमेन्ट बैंकमा २४ लाख रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंकमा ५१ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*