विष्णु पौडेलले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने, मन्त्रालय भागबन्डा र मन्त्रीको नाम गोप्य

३० असार २०८१, आईतवार १२:४७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेत्तृवमा बन्न लागेको सरकारमा एमाले र कांग्रेसका एक–एक जना उपप्रधानमन्त्री बन्ने निश्चित भएको छ।उपप्रधानमन्त्री राख्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोहि अनुसार नै छलफल भएको बुझिएको छ ।

एमालेका एक शीर्ष नेताले भने, ‘त्यसो हुँदा हाम्रोतर्फबाट विष्णु पौडेलजीले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै छ ।’उनले पहिला त सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछिमात्र कुन कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने स्पष्ट हुने बताए ।

उनले कांग्रेस एमालेबाहेकका दलहरू राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत नयाँ सत्ता समीकरणप्रति सकारात्मक छन् ।

एमालेबाट पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ, सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेललगायत मन्त्री बन्ने चर्चा भएपनि अध्यक्ष ओलीले केही बताइसकेका छैनन् । एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको एमाले नेताहरूको भनाइ छ ।

ओलीलाई आइतबार बेलुका राष्ट्रपतिले नियुक्ति गर्ने तयारी गरेको शीतल निवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीमा आइतबार ओली नियुक्त भएपछि सोमबार बिहान ११ बजेलाई शपथग्रहणको तयारी गरेको शीतल निवासले जनाएको छ ।

कांग्रेस एमालेबिचको सहमतिअनुसार सोमबारै मन्त्रीको समेत शपथ गराउने गरी ओलीले तयारी गरेका छन् । तर, अहिलेसम्म मन्त्रालय भागबन्डा र मन्त्री हुनेको नाम दुवै दलले गोप्य नै राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*