विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण बढ्दै, वालेट चलाउनेको संख्या आकासियो

२ भाद्र २०७८, बुधबार २३:४१

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण बढेको पाइएको छ । केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपर्थ्यो, कि त नगद नै दिनुपथ्र्यो । तर, पछिल्लो समय विद्युतीय भुक्तानी ह्वात्तै बढेको देखिएको छ । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिनु तथा देशमा भरपर्दो विद्युतीय कारोबार सुरु भएकोले समेत यसतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको छ ।

विश्वमाा सन २०२० मा कोरोनाको महामारी आउनुभन्दा पहिले वैकल्पिक प्रणाली जस्तो रहेको विद्युतीय कारोवार अहिले आएर भने आम नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिन पुगेको छ । तरकारी किन्दा, चिया पिउँदा समेत क्वुआर कोड स्क्यान गरेर भुक्तानी गर्ने सकिने व्यवस्था गरिएको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले योजनाबद्ध रुपमा नै विद्युतीय भुक्तानी र कारोवारलाई बढावा दिएको छ । मोबाइल वालेट, कनेक्ट आइपिएस, आरजिटिएस जस्ता प्रणाली सञ्चालनमा ल्याएको छ । मोबाईल वालेटको रुपमा इसेवा, फोन पे, प्रभु पे सेल पे जस्ता कम्पनीहरुले कारोबार गर्दै आएका छन् । यद्यपि इ सेवाको मात्रै ५० लाख भन्दा बढि प्रयोगकर्ता आबद्ध भएका छन् । यसले गर्दा आम मानिसलाई कारोवारमा सहजता र विश्वसनियता पनि थपेको छ । यता विद्युतीय कारोवारमा वृद्धि भएसँगै सुरक्षाबारे बढेको चासोप्रति भने नियामक निकायको दायित्व थपिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७।७८ को विवरणअनुसार विद्युतीय कारोवारको संख्या र परिमाण दुवै बढेको देख्न सकिन्छ । केन्द्रीय बैंकका अनुसार २०७७ जेठ मसान्तको तुलनामा २०७८ जेठ मसान्तसम्म आइपुग्दा ठूलो कारोवारका राफसाफका लागि सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट (आरजिएिस) कनेक्ट आइपिएस र मोबाइल बैंकिङमार्फत हुने कारोवारमा उल्लेख्य वृद्धि भएको छ । विवरणअनुसार २०७७ जेठको तुलनामा २०७८ जेठमा विद्युतीय कारोवारमा चार गुणाले वृद्धि भएको छ ।

बैंकका अनुसार २०७७ जेठमा १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख बराबरको कारोवार भएकामा २०७८ जेटमा आइपुग्दा २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख बराबरको कारोवार भएको छ । त्यसमा आरजिटिएस, कनेक्ट आइपिएस र मोबाइल बैंकिङको ठूलो हिस्सा रहेको छ । विवरण हेर्दा कारोवारको मात्रा एक वर्षको अवधिमा ४१२ प्रतिशतले बढेको देखिन्छ । केन्द्रीय बैंकका अनुसार २०७७ जेठमा छ लाख ९६ हजार ५३८ पटक कनेक्ट आइपिएसबाट कारोवार भएकामा २०७८ जेठमा आइपुग्दा त्यसमा वृद्धि भई दुई लाख १६ हजार ६४८ पुगेको छ । विसं २०७७ जेठ मसान्तसम्म कूल ३७ हजार २९७ पटक आरजिटिएसमार्फत भुक्तानी भएकामा २०७८ जेठमा पुग्दा कूल ३४ हजार ८७४ पटक आरजिटिएस कारोवार भएको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले अभियानकै रुपमा सञ्चालन गरेको क्विक रेस्पोन्स (क्यूआर) मा आधारित कारोवारमा पनि उत्तीकै वृद्धि भएको छ । विसं २०७७ असार मसान्तमा एक लाख ९५ हजार १६ वटा कारोवार भएकामा २०७८ जेठ मसान्तमा आइपुग्दा यसमा वृद्धि भई पाँच लाख दुई हजार ६६६ पुगेको छ । विसं २०७७ जेठमा मोबाइल बैंकिङमार्फत ५८ लाख १७ हजार ६८१ पटक कारोवार भएकामा त्यो बढेर २०७८ जेठ मसान्तमा एक करोड १० लाखभन्दा माथि पुगेको छ । वालेटमार्फत हुने कारोवारको अवस्था पनि त्यस्तै उत्साहप्रद रहेको छ । विसं २०७७ जेठमा एक करोड एक लाख ७९ हजार ५५७ पटक कारोवार भएकामा २०७८ जेठ मसान्तमा केही घटेर ९७ लाख ५० हजार ६५ मा सीमित भएको छ ।

कोरोनाका कारण २०६७ चैतदेखि २०७७ साउनसम्म देशव्यापी लकडाउन लागू भयो । यस्तै २०७८ वैशाख १६ गतेदेखि २०७७ असारको दोस्रो सातासम्म देशव्यापी निषेधाज्ञा लागू भयो । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थामा भौतिक रुपमा उपस्थित भएर कारोवार गर्न नपाएपछि आम मानिसले विद्युतीय कारोबारलाई नै प्राथमिकता दिएका छन् । विद्युतीय कारोबार सहज र सस्तो भएकाले पनि मानिसको आकर्षण बढेको देखिन्छ । राष्ट्र बैंकको विवरणअनुसार कनेक्ट आइपिसमार्फत हुने कारोबार रु एक खर्ब भन्दा बढीले भएको छ ।

विसं २०७७ जेठ मसान्तमा ५१ अर्ब ३० करोड ६० लाख बराबरको कारोबार कनेक्ट आइपिएसमार्फत भएकामा त्यो बढेर २०७८ जेठ मसान्तमा आइपुग्दा रु एक खर्ब ५८ अर्ब २५ करोड ४० लाख बराबर पुगेको छ । अघिल्लो जेठमा १४ लाख ६४ हजार वटा कारोबार भएकामा २०७८ जेठमा आइपुग्दा त्यो बढेर २१ लाख ६० हजार ६४८ पटक कारोवार भएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधानका अनुसार ग्राहकमा बढ्दै गएको प्रविधिप्रतिको जागरुपता तथा कोरोनाका कारण पनि विद्युतीय कारोवारमा वृद्धि भएको हो । सरकार, नेपाल राष्ट्र बैंक तथा सम्वद्ध अन्य सरकारी तथा गैरसरकारी निकायको सार्थक प्रयासले नगदरहित कारोबारमा अभिवृद्धि हुन पुगेको उहाँको भनाई छ । कनेक्ट आइपिएसमार्फत कारोवार गर्नेको मात्रा ६६० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, आइपिमार्फत हुने कारोबार पनि ८५ प्रतिशतले वृद्धि भएको छ । प्रमुख कार्यकारी अधिकृत प्रधान सबै क्षेत्रमा सहज रुपमा विद्युतीय कारोवार हुने र स्वीकार्य हुने अवस्था बनेको खण्डमा नगद कारोवारलाई न्यून विन्दुमा झार्न सकिने बताउँछन् । नीतिगत रुपमा पनि सहज व्यवस्था गरिएको तथा कारोनाका कारण पनि सहज कारोवारमा आम चासो बढेको भन्दै उनले सर्वस्वीकार्य कारोबारको लागि थप व्यवस्था गर्न सरोकारवाला सबैले चासो दिनुपर्नेमा जोड दिए ।

बैंकका अनुसार २०७७ असार मसान्तसम्म कूल रु ५८ करोड ९० लाख बराबरको भुक्तानी क्यूआरकोडमार्फत भएकामा त्यो बढेर २०७८ जेठ मसान्तमा आइपुग्दा एक अर्ब ९६ करोड ८० लाख बराबर पुगेको छ । यसले पनि नेपाली नागरिक प्रविधिको प्रयोगमा अध्यस्त हुँदै गएको देखिन्छ । केन्द्रीय बैंकले कालीमाटी तरकारी तथा फलफूल बजारका अतिरिक्त देशका प्रमुख तरकारी बजार, डिपार्टमेन्टल स्टोर तथा अन्य सार्वजनिक स्थानमा क्यूआरकोडको प्रयोगलाई बढावा दिन अभियान नै चलाएको छ ।

नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवालीले नेपाल राष्ट्र बैंकले सहज रुपमा नीतिगत व्यवस्था गरिदिएको तथा नागरिकमा आएको जागरुपताका कारण पनि विद्युतीय कारोबारमा वृद्धि भएको बताए । आफनो बैंकले पनि क्यूआर कोडको प्रयोगलाई अभियानकै रुपमा अगाडि बढाएको उल्लेख गर्दै उहाँले कोरोनाकाल भन्दा अगाडि र पछाडिको तुलना गर्दा उल्लेख्य रुपमा विद्युतीय कारोबारमा वृद्धि भएको जानकारी दिए ।

क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआरकोड प्रयोगमा वृद्धि हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले फोन वा डिजिटल प्रणालीमार्फत कर्जा समेत उपलब्ध गराउने व्यवस्था गरिसकेको जानकारी दिँदै नायब महाप्रबन्धक ज्ञवालीले केही समयभित्रै विद्युतीय कारोवारमार्फत ४५ लाख बढी ग्राहक जोडिने विश्वास व्यक्त गरे ।

नगदरहित कारोबारलाई बढावा दिँदै जाने केन्द्रीय बैंकको योजना छ । गभर्नर महाप्रसाद अधिकारीले यो अभियानलाई महाअभियानको सङ्ज्ञा दिए । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले समेत यसलाई आत्मसात् गरेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना समेटिएको छ । नगदरहित कारोबारको प्रवद्र्धनमा लागेको केन्द्रीय बैंकले त्यसका लागि उपकरणको अन्तरआवद्धता गर्दै राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने भएको छ ।

गभर्नर अधिकारीका अनुसार विद्युतीय भुक्तानीका उपकरणबीच अन्तरआवद्धता कायम गर्दै नेपालभित्र हुने भुक्तानी कारोबारहरूको राफसाफ तथा अभिलेखीकरण गर्न र नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइनेछ । विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक र सञ्चार सेवा प्रदायक संस्थालाई विशेष पुर्नकर्जा उपलब्ध गराइनेछ । त्यस्तो भुक्तानी कारोवारको प्रवद्र्धनका लागि विभिन्न माध्यमबाट हुने कारोवारको सीमा पुनरावलोकन गर्ने, कारोवारमा लाग्ने शुल्कलाई उपयुक्तस्तरमा कायम गर्न नीतिगत व्यवस्था गर्ने भएको छ । सरकारले प्राप्त गर्ने राजस्व र सबै प्रकारका भुक्तानी बैंकिङ्ग तथा विद्युतीय भुक्तानीको माध्यमबाट गर्ने व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न आवश्यक व्यवस्था गरिनेछ ।

कनेक्ट आइपिएसमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राहदानी तथा ट्राफिक प्रहरीको जरिवाना तिर्न सकिन्छ । यस्तै, सवारी साधन खरिद, शेयरबजार कारोबार, बीमाशुल्क तथा इन्टरनेटको बिल, मोबाइल टेलिफोनको बिल तथा बालेटमा समेत पैसा राख्न सकिन्छ ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले नेपाल राष्ट्र बैंकले यस बर्षको मौद्रिक नीतिमा यस विषयलाई उच्च प्राथामिकता राख्नु निकै सकारात्मक हो भने । इसेवाबाट हवाई टिकट काट्ने युटिलिटी बिल भुक्तानी तथा बीमा शुल्क समेत भुक्तानी गर्न सकिने व्यवस्था छ ।

यो वर्षको मौद्रिक नीतिमा भुक्तानी सम्बन्धी छुट्टै व्यवस्था गर्नु राम्रो काम भएको भन्दै उनले अहिलेको अवस्थामा विकसित देशहरुले गरिरहेकोजस्तो ‘क्यासलेस’ कारोबारलाई प्रोत्साहन गर्नु जरुरी भएको बताए । उनले यो प्रयोगकर्ता सचेत हुनुपर्ने विषय पनि हो भन्दै नगद कारोबार बैकल्पिक माध्यामबाट गर्नुपर्नेमा जोड दिए । अघिल्लो बर्षभन्दा यो बर्ष बढी उत्साहजनक रहेको भन्दै उनले बिगतमा नगदरहित कारोबार भनेको एउटा सोखको विषय भए पनि अहिले भने अनिवार्य आवश्यकताजस्तो भएको बताए ।

उनले भने, ‘बिजुली टेलिफोन, विभिन्न बिल भुक्तानी गर्न लाइनमा बस्नेजस्तो झन्झटिलो काम घट्दै गएको छ, समयको बचत भएको छ र यसका कारण मानिसहरु दिन प्रतिदिन प्रविधिमैत्री बन्दै गएका छन्, जुन निकै सकारात्मक पाटो हो ।’ उनले सवारीसाधन नवीकरण चालक अनुमति प्रमाणपत्र, मालपोतलगायत राजस्व लिने ठाउँमा पनि यसको कार्यान्वयन हुनुपर्ने र नागरिकलाई डिजिटल बैकिङ जटिल होइन सहज छ भनेर बुझाउनुपर्छ भने । प्रमुख कार्यकारी अधिकृत सापकोटाले नेपाल राष्ट्र बैंकले यस बर्षको मौद्रिक नीतिमा यस विषयलाई उच्च प्राथामिकता राख्नु निकै सकारात्मक भएको बताए । –रमेश लम्साल, रासस

One thought on “विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण बढ्दै, वालेट चलाउनेको संख्या आकासियो

  1. मदन सत्याल, इटहरी says:

    श्री गनर्भर ज्यू
    विषयः– भुक्तानी सेवा प्रदायकहरुले लिने शुल्कबारे ।
    नेपालमा सञ्चालित भुक्तानी सेवा प्रदायकहरुले बार्षिक रुपमा अर्बौ रुपैयाँको कारोबार गर्दै आएका छन् । अनि उपभोक्तासँग महंगो कारोबार शुल्क किन लिइरहेका होलान् । तपाई गभर्नर ज्यूले यसमा ध्यान दिनु परो । सर्वसाधारणसँग बढिमा दुई रुपैयाँ शुल्कमा कारोबार गर्न पाउने व्यवस्था गराई पाउ । बैंकले एक रुपैयाँको चेकमा कारोबार गराउँछन् । डिजिटल अर्थात मेशिनबाट हुने भुक्तानी सेवा किन महंगो हुँदैछ ? जवाफ दिनुहोला ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*