वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा २४ यात्रु सवार
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसेका छन् । सोमध्ये एउटा गाडीमा २४ जना यात्रु सवार रहेको खुलेको छ ।
वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा एक जना चालक र दुई सहचालकसहित २४ जना यात्रु सवार रहेको पाइएको हो । एन्जल डिलक्स वीरगन्जबाट काठमाडौँतर्फ र गणपति डिलक्स काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।
एन्जल डिलक्स बसमा अन्सारी जी समेत दुई जना गरी सन्तोष ठाकुर, सुरेन्द्र शाह, आदित मिया, सुनिल शाह र साहनबाज आलम भारतीय नागरिकको नामम टिकट बुक भएको थियो । त्यसैगरी वीरगन्ज–१४ पिपराका प्रकाश पटेलसमेत दुई जना, अरबिन्द्र दुवे, हरिन्द्र पण्डित, रामनगरी पर्साका सुजित सीसहित दुई जना, बारा मुसहर्वाका परमानन्द जी, पर्सा रंगपुरका हृदयनारायण राउत समेत तीन जना, रघनाथपुरका सालिम मिया सहित दुई जना र पर्सा कटियाका रैजुल आलम समेत गरी दुई जना यात्रुका नाममा टिकट बुक भएको पाइएको छ ।
उक्त बस जवाहिर महतोले चलाएका थिए भने डिलक्स साहु राजेन्द्र केसी र चौधरी थरका सहचालक रहेको बताइएको छ । प्रहरी सहितको टोलीले घटनास्थलमा परिचालित भई उद्धार तथा खोजी कार्य गरिरहेको छ ।