एउटै पहिरोमा परे दुईवटा यात्रुबस, ६५ जना यात्रुको अवस्था अज्ञात
२८ असार २०८१, शुक्रबार ०७:३१
काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना यात्रुहरू रहेको बताइएको छ।
आज बिहान करीब ३ः३० बजे दुईवटा बस त्रिशूलीमा खसेको जानकारी प्राप्त भएको छ । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको हो ।
गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान गरिएको छ । यद्यपि ती बसमा रहेका यात्रुको यकिन विवरण भने प्राप्त भइसकेको छैन् ।
घटनास्थलमा प्रहरी सहितको टोली परिचालन भएको छ । प्रहरी उद्धारमा खटिएर पहिरो पन्छाउने काम गरिरहेको छ । यस घटनामा तेस्रो पक्षको बीमा सहित लाखौं रुपैयाँको बीमा दाबी पर्न सक्नेछ ।