मन्त्रिपरिषदको बैठक सम्पन्न, नेपाल र चीनबीच बहुआयामिक सम्पर्क सञ्जाल समझदारीपत्र स्वीकृत

२७ असार २०८१, बिहीबार १८:४१

काठमाडौैँ । सरकारले नेपाल सरकार र चीन सरकारबीच हस्ताक्षर हुने ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणमा विकास सहयोगलाई सुदृढ गर्ने विषयक समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । असार २७ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८० असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले दुवै आयोगको म्याद थप गर्न बाधा अड्काउ फुकाउको आदेश नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत भएको हो ।

साथै, बैठकले स्थानीय तह राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०८१ र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले यसअघि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गठन गरिएको कार्यदलले पेस गरेको फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन सार्वजनिक गर्ने र प्रतिवेदनले औल्याइएका सुझावहरु कार्यान्वयन प्रक्रियामा लैजान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय समेत गरेको छ ।

यस्तै सरकारले देशका विभिन्न स्थानमा भएको बर्षा, बाढी र पहिरोका कारण रााष्ट्रिय परिचय पत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*