असार महिनामा ६ लघुवित्तको एकीकृत कारोबार सुरु

२७ असार २०८१, बिहीबार १७:२३

काठमाडौं । चालु आर्थिक वर्षको असार महिनामा मात्रै ६ वटा लघुवित्तहरु मर्ज भएका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर नीति र सहुलियत लिनको लागि लघुवित्तहरु आफुलाई उचित भएकासँग मर्ज भई एकीकृत कारोबार सञ्चालन गरेका हुन् ।

चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिले बैंक, वित्तीय संस्थाको मर्जरलाई प्रोत्साहन गर्न दिएको सुविधा कटौती गर्दै त्यस्तो सुविधा लघुवित्तका लागि मात्र दिने घोषणा गरेको छ । गत आवको मौद्रिक नीतिमा वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाको मर्जरलाई मौद्रिक नीतिमा प्रोत्साहन गरिएको थियो । चालू आवको नीतिमा भने ‘२०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधा उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने’ उल्लेख छ ।

असार महिनामामा समता घरेलु र मनकामना स्मार्ट लघुवित्त, जाल्पा सामुदायिक र किसान लघुवित्त तथा सबैको र साधाना लघुवित्तहरु मर्ज भएका छन् । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको आयकरमा छुट दिएसँगै मर्जको लागि लघुवित्त कम्पनीहरु अगाडी बढेका छन् ।

चालु आर्थिक वर्षको असार मसान्तभित्र मर्ज भई एकीकृत कारोबार गरेको १ वर्षसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा छूट, काठमाडौं उपत्यकाभित्र कर्पोरेट कार्यालय खोल्न स्वीकृति, एकल ग्राहक सीमा कायम गर्न ३ वर्षको समय दिँदै आएको छ ।

समता घरेलु र मनकामना स्मार्ट लघुवित्त

समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनाकामना स्मार्ट लघुवित्तलाई प्राप्ती (एक्विजिशन) गरेर ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ बनाएको छ । यी कम्पनीहरुले असार २४ गतेदेखि एकीकृत कारोबार समेत सुरु गरिसकेका छन् ।

काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहेको छ ।

जाल्पा सामुदायिक र किसान लघुवित्त

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ बनेको छ । कम्पनीले आजदेखि औपचारिक रुपमा एकीकृत कारोबार समेत गरिसकेका छन् ।

लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहेको छ । साथै डाटा माइग्रेशन प्रयोजनका लागि असार २६ गते दुईवटै संस्थाले आफ्नो सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द गरेका थिए ।

सबैको र साधाना लघुवित्त

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट असार ३० गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त र तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले मर्जरका लागि गत असार १३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुरमा रहनेछ । नेपाल राष्ट्र बैंकले असार १३ गते दुबै लघुवित्त संस्थाहरुलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृती दिएको थियो ।

साथै डाटा माइग्रेसनका लागि असार २९ गते दुबै कम्पनीको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*