अर्थमन्त्री विष्णु पौडेल नबन्दा पनि लगानीकर्ता उत्तिकै उत्साहित, ‘नयाँ सत्ता समीकरणले पुँजीबजारमा बुलको यात्रा तय गर्छ’

दिपक विष्ट
२५ असार २०८१, मंगलवार १५:१८

काठमाडौँ । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । असार १८ गते संसदका ठुला दुुई दल नेपाल एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सत्ता गठबन्धनबाट पौडेल अर्थमन्त्री बन्ने कुराले शेयर बजारमा दुई पटक सर्किट लागेको हो । शेयर लगानीकर्ताहरु एमालेका पौडेल अर्थमन्त्री बन्ने कुराले उत्साहित भएका थिए । लगानीकर्तालाई उनलाई शेयर बजारको हितमा सोच्ने मन्त्री रुपमा चिन्छन् । उनले आफनो कार्यकालमा दुईपटक ब्रोकर कमिशन घटाएका थिए ।

सन् २०१५ मा उनी अर्थमन्त्री हुँदा सेयरबजार ९ सयमा चलेको थियो । उनको एक बर्षकै कार्यकालमा बजार डबल बढेर १८८१ को उच्च विन्दु चुमेको थियो । दोश्रोपटक अर्थमन्त्रालय सम्हाल्दा १३०० आसपासमा रहेको थियो । कोभिडको समयमा अर्थमन्त्री बन्न विष्णु आइपुगेका थिए । उनले दोश्रोपटक अर्थमन्त्रालयमा प्रवेश गरेपछि बजारमा उछाल आएको थियो । त्यसपछि बजारले पुनः नयाँ उचाई चुमेको थियो ।

यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया पुरा गरेर सत्ता छोड्ने तयारी गरिरहेका छन् । उता, कांग्रेस एमालेको नयाँ गठबन्धनमा को को मन्त्री बन्ने भन्ने चर्चा पनि उत्तिकै चलिरहेको छ । सो मध्येमा सर्वाधिक चर्चामा गृह मन्त्रालय र अर्थमन्त्रालयमाथि भइरहेको छ । गत असार १७ गते मध्येराति भएको सम्झौता अनुसार कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । त्यस्तै, नेपाली कांग्रेसले गृह मन्त्रालय सहित ११ वटा मन्त्रालय पाउनेछन् भने एमालेले अर्थ मन्त्रालय सहित १० वटा मन्त्रालय पाउने प्रारम्भिक सहमति भइसकेको छ ।

एमालेबाट अर्थमन्त्री बन्न मकवानपुरका सांसद महेश बर्तौलालाई प्रस्ताव गरिएको छ । शेयर लगानीकर्ता अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई हेर्ने चाहेको भएपनि यसपटक पौडेल अर्थमन्त्रालय जिम्मेवारी समाल्ने सम्भावना निकै कम रहेको एमाले सचिवालय स्रोतले बताएको छ । स्रोतले भने, यसपटक पौडेल भन्दा पनि महेश बर्तौलालाई अर्थमन्त्रालयको जिम्मेवारी दिने गरी पार्टीमा छलफल भइरहेको छ । अध्यक्ष (केपी ओली) ज्यूले पनि बस्र्तौलालाई चाहेका छन् । पौडेल अर्थमन्त्री नबन्ने पक्का पक्की नै छ । बर्तौला वा पदम गिरी मध्ये एक जना अर्थमन्त्री बन्ने सम्भावना रहेको छ ।’ यता, सत्ता समीकरण बनाउनमा शंकर पोखरेलले समेत राम्रो भुमिका खेलेको हुँदा अर्थको जिम्मेवारी उनलाई समेत दिन सक्ने बताइएको छ ।

विष्णु पौडेल आउँदा शेयर बजारले छुटै सकारात्मक लय लिने लगानीकर्ता छोटेलाल रौनियारले बताए । ‘अर्थतन्त्र र शेयर बजारको आँखाबाट हेर्ने हो भने विष्णु पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आउनु पर्छ । पौडलले पुँजी बजारलाई राम्रो बुझेका छन् । यसअघि उनको पालामा बजारले नयाँ इतिहास कायम गरेको हो’ रौनियारले भने ।

पौडेल अर्थमन्त्रीमा नआएपनि बजारले भने सकारात्मक नै लय लिने रौनियारको भनाइ छ । उनले भने, ‘अर्थमन्त्रालयमा पौडेल आए रौनक आउँछ । उनी नआउँदा पनि बजारले लय नै लिने देखिन्छ । किनभने एमाले कै अर्थमन्त्री एमाले कै प्रधामन्त्री र गर्भनर पनि एमाले लाइनको भएको कारण सरकारलाई सफल बनाउन भएपनि मौद्रिक नीति लचिलो आउँछ । नीतिमा सुधार भएसँगै बजारले नयाँ लय लिने पक्का छ ।’

शेयर लगानीकर्ताले विष्णु पौडेललाई रुचाएको हुँदा उनको विकल्पमा अर्का कुनै अर्थमन्त्री भए शेयर बजारले अपेक्षा अनुसार गति लिन नसक्ने शेयर लगानीकर्ता राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘शेयर बजारले रुचाएको विष्णु पौडेललाई हो । अन्य को ब्यक्ति आउँदा के हुन्छ भन्दा पनि पौडेल आए बजारले सकारात्मक लय लिन्छ । अन्य ब्यक्ति पौडेल भन्दा राम्रो आए त्यो बेला बजारले नतिजा देखाउँछ ।’

पौडेलले बनाउने शेयर बजारमैत्री नीतिले मार्केटलाई नयाँ लक्ष्य चुम्न तिर अग्रसर गराउने पोखरेल भनाइ रहेको । ‘शेयर बजारका लगानीकर्ताले विष्णु पौडेललाई खोजेका हुन् । पौडेल आउँदा शेयर बजारमैत्री पोलिसि आउँछ । मुखले राम्रो कुरा गरेर बजारले लय लिदैन । गर्भनर महाप्रसाद अधिकारीसँग पनि समन्वय बढ्छ । सोहि कारण पनि उनी आउनु पर्छ’ उनले भने ।

अर्का लगानीकर्ता सुरज खड्का भने अर्थमन्त्री को बन्ने भन्दा पनि शेयर बजारलाई नीतिले प्रभाव पर्ने बताउँछन् । उनले भने, ‘हामीलाई राजनीति भन्दा पनि नीति राम्रो चाहिएको हो । नीति राम्रो आयो भने विष्णु पौडेललगायत जो कोहि आएपनि बजारले गति लिन्छ । नीति कमजोर छ । विगत तीन वर्षदेखि नीतिका कारण बजार शिथिल हुनुका साथै लगानीकर्ताको मनोबल समेत कमजोर बनेको छ ।’

यसअघि पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा हुँदा बजारले एकदमै राम्रो गति लिएको हुँदा पुनः उनै सो जिम्मेवारीमा आउँदा सकारात्मक नीति आउने खड्काको भनाइ रहेको छ । ‘यसअघि गर्भनर महाप्रसाद अधिकारीले गठबन्धन सरकारलाई असफल बनाउन कसिलो नीति लिएको भन्ने आरोप छ । त्यो आरोप साचो हो भने एमाले सरकार आएको खण्डमा मौद्रिक नीति समेत लचिलो आउने छ’ खड्काले भने, ‘यसअघिका अर्थमन्त्री प्रकाशसरण महतले सार्वजनिक कार्यक्रममा नै गर्भनरले आफुले भनेको नमानेको गुनासो गरेका थिए । अबको सत्ता समीकरणबाट बन्ने नयाँ अर्थमन्त्रीसँग राष्ट्र बैंकको समेत समन्वय बढ्ने अपेक्षा राखेका छौं ।’

अर्थतन्त्र सुधार तिर लम्कि रहेको, ब्याजदर ओरालो लागि रहेको र नयाँ सत्ता समीकरण नियामकसँग समन्यव बढ्ने आशले शेयर बजारका लगानीकर्तामा रौनक नै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*