घाटा नजिकै रहेको रिलायन्सको लगानीकर्ता गुमराह बनाउने आइपीओ, कानुनको छिद्र दुरुपयोग गर्दै बोर्डभित्र चलखेल

दिपक विष्ट
२३ असार २०८१, आईतवार १३:१५

काठमाडौँ । कानुनमा विद्यमान छिद्रको दुरुपयोग रिलायन्स स्पिनिङ्ग मिल्सले आइपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । सर्वसाधारणलाई अत्यधिक महँगोमा बुक बिल्डिङ आइपीओ निष्कासनको अनुमति पाएको रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि शेयर निष्कासनका लागि मिति तय गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणको ७३ करोड ४७ लाख रुपैयाँ बक्यौता बाँकी रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया जबरजस्ती अघि बढेको हो । कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता हिसाब नगरी आइपीओ निष्कासन पश्चात् सर्वसाधारणलाई भार पार्ने रणनीति तय गरेको छ ।

कम्पनीको अध्यक्ष पदमा पवन कुमार गोल्यान छन् । बैङ्किङ क्षेत्रमा रजगज गरेर कृषकले पाउने अनुदानलाई आफैले कुम्लाउने विवादित घरानाका गोल्यानले आम सर्वसाधारणबाट लुट चलाउने खेल खेलेका छन् । उनको कम्पनीमा २१.९५ प्रतिशत लगानी रहेको छ । सञ्चालकमा अक्षय गोल्यान (२२.९४) र शशिकान्त अग्रवाल (४४.९३) रहेका छन् ।

लगानीकर्ताको हितमा भन्दा माफियाको सेटिङमा बोर्ड
शेयर बजारका लगानीकर्ताको नियामक निकाय नेपाल धितोपत्र बोर्ड हो । तर, बोर्ड लगानीकर्ताको हितमा भन्दा केही सीमित घरानाको स्वार्थमा लिप्त भएको देखिन्छ । विगतमा रमेश हमाल हुँदा समेत शेयर निष्कासन अनुमति दिँदा अर्बौका चलखेल भएको कुरा बेला बेला बाहिर आउने गरेका थिए ।

हमाल बाहिरिए पनि बोर्डका घुस सेटिङ कायमै रहेको छ । बोर्डले घुस सेटिङमा रिलायन्सलाई आइपीओ स्वीकृतको अनुमति दिएको हो । अर्थमन्त्रालयबाट कामु अध्यक्ष बन्न गरेका सह–नरेन्द्र रानामगरले कम्पनीको आइपीओ स्वीकृतका लागि ठुलै चलखेल गरेको देखिएको छ ।

७३ करोड बक्यौता भएको रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आइपीओलाई अनुमति दिने निर्णय गरेको हो । सो बक्यौता असुल उपर नगरी आइपीओ निष्कासन नगर्न नेपाल विद्युत् प्राधिकरणले गरेको आग्रहलाई अर्थबाट खटाइएका सह सचिव मगरले अस्वीकार गर्दै माफियासँगको सेटिङमा विवादित आइपीओ पास गरेका हुन् । सुनसरी जिल्ला अदालतमा रिलायन्सको विद्युत् बक्यौता सम्बन्धी मुद्दा विचारधिन अवस्थामा रहेको छ । यदि मुद्दा हारेमा लगानीकर्ताको रकमबाट तिर्नु उक्त बक्यौता तिनुपर्ने छ । उक्त कुरामा मूकदर्शक बनी बोर्डको अध्यक्ष बन्न आएका मगरले चलखेल गरेको हुन् ।

विवादित कम्पनीलाई मात्र आइपीओ स्वीकृत गरी पुनः अर्थ मन्त्रालयमा नै बजेट सम्बन्धी कार्यमा गएका मगरले आइपीओ स्वीकृतमा ठुलो चलखेल गरेको प्रस्ट छ ।

वित्तीय विवरण नाजुक
कम्पनीको मुनाफामा भारी गिरावट देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास २ करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको असारमा यस कम्पनीले ९२ करोड ७८ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत असारमा १० अर्ब ५८ लाख रहेको व्यापार यस अवधिसम्म आइपुग्दा ७ अर्ब २१ लाख रुपैयाँ कायम भएको छ । यसको अन्य आम्दानी पनि ३ करोड ७४ लाखबाट घटेर २ करोड १४ लाखमा झरेको छ । वित्तीय खर्च २४ करोड ९० लाखबाट बढेर ३७ करोड ३३ लाख पुगेको छ ।

यता, चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अदर इक्विटीमा ५ अर्ब ३२ करोड १६ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ५४।३४ रुपैयाँबाट घटेर २।०८ रुपैयाँ कायम भएको छ ।

Third-Quarter-Financial-Report-F-Y-080-081

कारबाहीका माग गर्दै लगानीकर्ता बोर्डको दैलोमा
धितोपत्र बोर्डमा चार लगानीकर्ता सङ्घका अध्यक्षहरूले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ स्थगित गरी छानबिन, कारबाही तथा आवश्यक सुधार गरेर मात्र सो निष्कासन गरी पाउँ भन्दै उजुरी दिएका छन् । बोर्डले आइपीओ स्वीकृत दिएको र सो कार्य धितोपत्र सम्बन्धी ऐन २०६३ को उद्देश्य र आशय विपरीत भएकोले सो निर्णय कार्यान्वयन प्रक्रिया तत्काल स्थगित गरेर, सूक्ष्म किसिमले आवश्यक अनुसन्धान तथा दोषीहरूलाई हदै सम्मको कार बही गरी ऐनको प्रस्तावनाकै भावना अनुरूप लगानीकर्ताहरूको हित संरक्षण हुने गरी सो आइपीओ निष्कासन गर्ने व्यवस्था गर्न लगानीकर्ताले माग गरेका छन् ।

रिलायन्सले २०८०।८१ असार मसान्तसम्म प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा पुराउने आश्वासन दिएको छ । तेस्रो त्रैमाससम्म २।०८ रुपैयाँ मात्र रहेको इपीएस अबको तीन महिना भित्र ३३ रुपैयाँ पुराउने भनिएको इष्टमेट सरासर कपोलकल्ति, भ्रामक र अतिरञ्जित रहेको लगानीकर्ताको दाबी छ ।

साथै, लगानीकर्ताले कम्पनीले स्वामित्वमा रहेका जग्गा, भवनहरु ३ अर्ब २४ करोड ९२ लाख भन्दा बढीले पुनर्मूल्यांकन गरी कम्पनीको नेटवर्थ करीब १९० बढाई देखाएको छ जसको प्रस्ट उद्देश्य कम्पनीको कटअफ प्राइस बढाएर कायम गरी सर्वसाधारण लगानीकर्ताहरुसंग बढी रकम अशुल्नु रहेको जनाएका छन् । ‘कम्पनीको सम्पत्तिको पुनर्मूल्यांकन आएको रिजर्भले कुनै नगद प्रवाह गर्दैन तथा यो कुनै व्यावसायिक प्रयोगमा ल्याउन, कारोबार बढाउन पनि मिल्दैन । यसर्थ यसलाई नेटवर्थमा गणना गरी कटअफ प्राईसमा गरिए लगानीकर्तासँग बढी रकम असुल्ने चलखेल हटाइपाँउ’ लगानीकर्ताले उजुरीमा भनेका छन् ।
हेर्नुहोस् लगानीकर्ताको उजुरी

2 thoughts on “घाटा नजिकै रहेको रिलायन्सको लगानीकर्ता गुमराह बनाउने आइपीओ, कानुनको छिद्र दुरुपयोग गर्दै बोर्डभित्र चलखेल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*