बाढीका कारण माथिल्लो तामाकोशीको उत्पादन बन्द

२२ असार २०८१, शनिबार १४:०६

काठमाडौं बाढीका कारण माथिल्लो तामाकोशीको उत्पादन बन्द भएको छ । शुक्रबार रातिबाट तामाकोशी नदीको जल सतकर्ताको तह नाघेपछि जलविद्युत केन्द्रको उत्पादन बन्द गरिएको हो ।

शुक्रबार राति तामाकोशी नदीको बहाब २ सय ८५ घनमिटर मापन भएको थियो । तामाकोशीको बाँधस्थल भन्दा माथिल्लो क्षेत्रका जुम खोला र लप्ची खोलाले कतै थुनिएर शुक्रबार रातिबाट बाढी आएको अनुमान केन्द्रले गरेको छ ।

जसकारण तामाकोशीको बाँधस्थलका सबै ढोका खोलिएका छन् । सामान्यतया ६६ घनमिटर पानी बग्ने तामाकोशी खोलाको जलसतह २ सय ८५ घनमिटर पुगेको छ । तामाकोशीमा बाढी आएसँगै विधुतगृह रहेको गोगरमा सडक, विद्युत केन्द्रको टेलरेसका संरचना र ३३ केभी प्रशारण लाईनका विद्युतका पोलहरुमा क्षति गरेको माथिल्लो तामाकोशी जलविधुत केन्द्रका प्रमुख पुर्णगोपाल रंजितले बताए ।

तामाकोशीको बाँधस्थलमा माथिल्लो क्षेत्रबाट आएको बाढीको गेग्रानले भरिएको छ । २ सय घनमिटर भन्दा कम वहावमा तामाकोशी वग्न थालेमा उत्पादन पुनः शुरु गरिने उनले बताए । यस्तै शुक्रबार राति रोल्वालिङ खोलामा आएको बाढीले गौरीशंकर गाउँपालिका–९ को डोगाङमा एक जना वेपत्ता भएका छन् भने बेपत्ता हुने सोही गाउँकी ६५ वर्षीय जाङमु शेर्पा रहेको प्रहरीले जनाएको छ ।

डोगाङमा पर्यटकका लागि खुलेका साना होटलसहित ३ वटा घर बाढी गाएको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र र जनपद प्रहरीसहित गाउँपालिकाको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए । तामाकोशीले जल सतर्कताको तह नाघेर गोगंर, जगत लगायतका क्षेत्रमा व्यापक कटान गरेपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*