उत्साहमय साताः परिसूचक २१ सय पुग्दा कारोबार रकममा समेत फड्को

२२ असार २०८१, शनिबार ०९:२५

काठमाडौँ । यस साता शेयर बजार उत्साहमय बनेको छ । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण सम्बन्धी लिखित सम्झौता भएसँगै शेयर बजारका लगानीकर्ता आशावादी बनेका हुन् । एमालेका नेता विष्णु पौडेललाई अर्थमन्त्री हुने हल्ला चलेसँगै यो साताको सोमबार बजारमा दोस्रो पटक सर्किट लागेको हो ।

एमालेकै प्रधानमन्त्री र अर्थमन्त्री बनेपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग तालमेल मिल्ने भएपनि लगानीकर्ता उत्साहित भएका हुन् । तत्काल एमाले सरकार बनि नसकेको अवस्थामा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यस साता पाँच दिन बजार खुल्दा चार दिन हरियाली भएको छ ।

आइतबार मात्र बजार दोहोरो अकंले घटेको छ । किनभने त्यो दिन एमाले सरकार आउने विषयमा कुनै छलफल भएको थिए । साताको पहिलो कारोबारको दिन बजार १४.८३ अकंले घटेर २०३७.०९ बिन्दुमा बन्द भएको छ । सोमबार बजार १६.२९ अकं, मंगलबार ४७.०४ अकं, बुधबार ३.७९ प्रतिशत र बिहिबार १५.४७ अकंले बढेको हो ।

यो साता समग्रमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो । सातामा नेप्से परिसूचक ६७।७६ अंकले बढ्यो भने कारोबार रकम एक अर्ब ३३ करोड ६४ लाख रुपैयाँले बढ्न पुग्यो । आइतबारदेखि बिहीबारसम्मको एक सातामा २२ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । गत साता २१ अर्ब ४१ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

परिसूचक २१ सय, कारोबार माघ यताकै उच्च

यस साताको अन्तिम दिन कारोबार २०८० साल यताकै उच्च बन्न पुगेको हो । माघ ७ गते ७ अर्ब ६७ करोड रुपैयाँको कारोबार पुगेको हो । बिहिबार कारोबार ६ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएको हो । यस साता कारोबार रकम पनि सन्तोजनक नै भएको छ ।

साताको आइतबार ३ अर्ब ६० करोड, सोमबार २ अर्ब ९९ करोड, मंगलबार ४ अर्ब ५७ करोड र बुधबार ५ अर्ब ८ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

परिसूचक समेत यस साताका अन्तिम तिन कारोबार दिन २१ सय बिन्दु माथि उक्लिएको छ । यस साताको मंगलबार २१००, बुधबार २१०४ र बिहिबार २११९ बिन्दुमा परिसूचक पुगेको हो ।

यता, अर्थतन्त्र समेत सकारात्मक बनि रहेको अवस्था छ । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । यसले समेत शेयर बजारलाई उचाईमा पुग्न बल पुराएको हुन्छ । अब कर्जा प्रवाह बढाउने गरी नीति आउने धेरैको अनुमान छ । गर्भनर महाप्रसाद अधिकारीलाई एमाले निकट ब्यक्तिका रुपमा लिइन्छ । अबको नयाँ सत्ता समिकरणमा समेत अर्थतन्त्र एमाले पाउने सहमति भएको छ । आउने दिनहरुमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच अझै बढी समन्वय हुने र सोही अनुसार वित्त र मौद्रिक नीतिबीच तालमेल हुन सक्ने लगानीकर्ताको बुझाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*