शेयर बजारमा म्युचुअल फण्डको साढे ३२ अर्ब लगानीः नाफामा आकर्षक सुधार, कुनको न्याभ कति ?
काठमाडौँ । म्युचुअल फण्डहरुले जेठ महिनामा शेयर बजारमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले शेयर बजारमा ३२ अर्ब ७३ करोड ९० लाख ७८ हजार रुपैयाँ लगानी गरेका हुन् ।
यो बैशाख महिनाको तुलनामा ७.२९ प्रतिशतले बढेको छ । बैशाख महिनामा म्युचुअल फण्डहरुले शेयर बजारमा ३० अर्ब ५१ करोड ३४ लाख रुपैयाँ लगानी गरेका थिए । शेयर बजार बैशाखमा केहि सुधार आउँला म्युचुअल फण्डमा लगानी बढेको हो । लगानी गरेको म्युचुअल फण्डको फण्डहरुको सुधारले लगानी बढेको देखिएको हो ।
बैशाख महिनाको तुलनामा फागुनमा ४ वटा फण्डको मात्रै शेयरबजारमा लगानी घटेको छ । अन्य म्युचुअल फण्डको लगानी भने बढेको हो । सबैभन्दा बढी लगानी एनआइबीएल सहभागिता फण्डको रहेको छ । फण्डको १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी छ । जुन बैशाखको तुलनामा १० प्रतिशतले बढी हो ।
त्यस्तै, दोस्रो नम्बरमा एनएमबी सरल बचत फण्ड–ईको १२.६३ प्रतिशतले बढेर एक अर्ब ६३ करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ इक्विटी फण्डको ८.०३ प्रतिशतले बढेर एक अर्ब २५ करोड ९७ लाख रुपैयाँ, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को ८.२० प्रतिशतले बढेर एक अर्ब १९ करोड २७ रुपैयाँ र एनएमबी–५० को ६.३४ प्रतिशतले बढेर एक अर्ब १० करोड ४५ लाख रुपैयाँ शेयरबजारमा लगानी रहेको छ ।
शेयर बजारमा सकारात्मक महोल हुँदा म्युचुअल फण्डको लगानी समेत वृद्धि भएको एनएमबि क्यापिटलका म्युचुअल फण्ड विभागका प्रमुख आशिषराज पाण्डेले बताए । उनले भने, ‘र्माैद्रिक नीति लचिलो आउने आशले बैशाखमा शेयर बजारमा सुधार भएको छ । म्युचुअल फण्डको मूल्य समेत निरन्तर बढेको छ । कारोबार रकममा समेत उच्च रहँदा मार्केटमा सकारात्मक माहोल बनेको हो । सोही कारण शेयर बजारमा म्युचुअल फण्डको लगानी वृद्धि भएको पाइन्छ ।’
शेयर बजारमा म्युचुअल फण्डको लगानी बढे पनि अपेक्षा अनुसार सुधार भने आउन सकेको छैन । म्युचुअल फण्डको लगानीको क्षेत्र सीमित नै रहेको छ । बजार भन्दा बाहिर लगानी गर्ने पाउँदैन सोही कारण लगानी कम नै भएको देखिन्छ ।
कसले कति कमाए नाफा ?
जेठ महिनामा १६ वटा फन्डहरुले नाफा उच्च दरमा वृद्धि गरेका छन् । अन्य सबैको सुधार छ। गत बैशाखसम्म २८ वटा फन्डहरु नोक्सानीमा थिए । तर, जेठमा भने ११ वटा मात्रै घाटामा देखिएका छन् ।
जेठमा सबैभन्दा धेरे नाफा प्रभु सेलेक्ट फन्डले ११ करोड ८८ लाख रुपैयाँ कमाएको छ । बैशाखको तुलनामा फन्डले नाफ ६६.४३ प्रशित बढाएको हो ।
यस्तै, एनआइसी एशिया ग्रोथ फन्डले ४७.८७ प्रतिशतले बढाएर ७ करोड ८९ लाख, हिमालयन ८०–२० ले ४५.८२ प्रतशितले बढेर ६ करोड ७० लाख, आरविवि म्युचुअल फन्ड–२ ले ८८.५९ प्रतिशतले बढाएर ५ करोड ३४ लाख र एनआइसी एशिया डाइनासिक डेप्टले २४.८२ प्रतिशतले बढाएर ५ करोड नाफा कमाएका छन् ।
यता, कुमारी धनवृद्दि योजनाले २६०.९९ प्रतिशतले बढाएर ४ करोड ९३ लाख रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ ले २२० प्रतिशतले बढाएर ४ अर्ब ८५ करोड रुपैयाँ, सनराइज फस्र्ट म्युचुअल फण्डले १०२ प्रतिशतले बढाएर ४ करोड ६२ लाख रुपैयाँ, सानिमा ग्रोथ फण्डले ६० प्रतिशतले बढाएर ४ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् ।
कस्को न्याभ कति ?
जेठ महिनामा ७ वटा म्युचुअल फण्डका न्याभ ११ रुपैयाँमाथि छ । नबिल फ्लेक्सी क्याप फण्ड बाहेक सबै फण्डको न्याभ वैशाख महिनाको तुलनामा बृद्धि भएको छ । जेठमा सर्वाधिक एनएमबी सुलभ इन्भेष्टमेन्ट–२ को न्याभ ११.६२ रुपैयाँ छ । वैशाखको तुलनामा सो फण्डको न्याभ ५१ पैसाले बृद्धि भएको छ । गत महिना अर्थात वैशाखमा यो फण्डको न्याभ ११.११ रुपैयाँ थियो ।
त्यस्तै, सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ ११.२७ रुपैयाँ पुगको छ । अघिल्लो महिना सो फण्डको न्याभ ११ रुपैयाँ थियो । यो फण्डको न्याभ २७ पैसाले बृद्धि भएको छ ।
यता, कुमारी सुनौलो लगानी योजनाको न्याभ ११.२० रुपैयाँ, एनएमबि ५० को ११.१२ रुपैयाँ, सानिमा इक्वाटी फण्डको ११.११ रुपैयाँ, प्रभु सेलेक्ट फण्डको ११ रुपैयाँ, एनआइसी एशिया ग्रोथ फण्डको ११ रुपैयाँ, एनआइसी एशिया सेलेक्ट ३० को १०.९९ रुपैयाँ, सानिमा ग्रोथ फण्डको १०.९४ रुपैयाँ रहेको छ ।