बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद गतिविधि न्यून, २८ शंकास्पद कारोबारको रिपोर्टिङ
काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ। सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्यून भएको देखिएको छ।
सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधिको रिर्पोटिङको जिम्मेवारी बीमा प्राधिकरणको साझेदारीमा राष्ट्र बैंकले नै पाएको छ । सो कारण राष्ट्र बैंक मातहत रहेको वित्तिय अनुसन्धान ईकाईले आफनो प्रतिवेदनमा उल्लेख गरे अनुसार नेपाली बीमा क्षेत्रमा बर्षदिनमा २८ वटा कारोबार मात्रै शंकास्पद देखिएको छ। राष्ट्र बैंकको एफआईयूले आर्थिक वर्ष २०७९/८० मा बीमा क्षेत्रमा शंकास्पद कारोबार दोब्बरले बढेको प्रतिवेदन निकालेको थियो।
एफआईयूको प्रतिवेदन अनुसार पोहोर इन्स्योरेन्समा ९ वटा शंकास्पद कारोबार भएका थिए । अघिल्लो वर्ष यस्तो कारोबारको संख्या ३ मात्रै थियो ।वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, फाइनान्स कम्पनी, शेयर बजारको सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधिको तथ्यांकको आधारमा बीमा क्षेत्रको न्यून देखिएको छ ।
वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको प्रतिवेदन अनुसार गत वर्ष वाणिज्य बैंक मार्फत ५ हजार २८२ वटा शंकास्पद कारोबार भएको छ ।बीमा क्षेत्रको पछिल्ले बर्षहरुमा भने सम्पत्ति शुद्धिकरण सम्बन्धी सम्बन्धी शंकास्पद गतिविधि वृद्धि भएको प्रतिवेदनले देखाएको छ ।
त्यस्तै, कारोबारको आधारमा हेर्ने हो गत बर्षमा जीवन बीमा कम्पनी मार्फत ३ करोड ६१ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको खुलेको छ।जसमा दुईवटा शंकास्पद कारोबार मानिएर अंकमा देखिएपनि कारोबारमा निर्जिवन बीमा भने गणना भएको देखिएको छैन ।
त्यस्तै, वाणिज्य बैंकहरुको ३८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको छ । जुन बैंक तथा वित्तिय क्षेत्रकै सबैभन्दा ठूलो हिस्सा हो ।
प्रतिवेदन अनुसार विकास बैंक मार्फत ४७ करोड २२ लाख, स्टक ब्रोकर मार्फत ४१ करोड ९६ लाख, फाइनान्स कम्पनी मार्फत २६ करोड ५१ लाख र रेमिट्यान्स कम्पनी मार्फत ११ करोड १३ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको पाइएको छ।
पिएसपि मार्फत १ करोड १५ लाख, सहकारी मार्फत ४८ लाख, मर्चेन्ट बैंकर मार्फत ४१ लाख र लघुवित्त वित्तीय संस्थाहरु मार्फत २२ लाख रुपैयाँ शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अंकका आधारमा हेर्ने हो भने जीवन बीमा कम्पनी मार्फत २६, निर्जीवन बीमा कम्पनीमार्फत २, विकास बैंक मार्फत ३३०, भुक्तानी सेवाप्रदायक मार्फत २११, रेमिट्यान्स कम्पनी मार्फत १५६, फाइनान्स मार्फत ९९, स्टक ब्रोकर मार्फत ६२, सहकारी २, मर्चेन्ट बैंकको १ र राष्ट्र बैंक मार्फत ११ वटा शंकास्पद कारोबार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थामा प्राधिकरणको कडाई गरेर गत जेठमा केही व्यवस्था थप गरेको छ।प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी निर्देशन, २०८१ जारी गरेको थियो ।
उक्त निर्देशिकाले बिशेष गरी ग्राहक पहिचान र शंकास्पद कारोबारको बिषयलाई बढी केन्द्रित गरेको छ।साथै परिपालना अधिकृत अनिवार्य गरिएको छ भने बीमा कम्पनीहरुलाई जोखिम मूल्यांकन प्रतिवेदन तयार गर्न समेत निर्देशन दिएको छ।
जसमा बीमा प्राधिकरणले ग्राहकको पहिचान तथा सम्पृष्टि, उच्च पदस्थ व्यक्तिको पहिचान गर्दा थप उपाय अवलम्बन गनुपर्ने, वास्तविक धनी पहिचान, जोखिम मूल्यांकन प्रतिवेदन तयार गनुपर्ने, बृहत ग्राहकको पहिचान, निरन्तर अनुगमन, खास कारोबार र शंकास्पद कारोबारको प्रतिवेदन र सो व्यवस्था लागू नगरेको खण्डमा प्राधिकरणले दश लाख देखि ५० लाख रुपैयाँसम्म जरिवाना र संस्था खारेजीसम्म गर्न सक्ने व्यवस्था गरेको छ।
साथै यो व्यवस्था कार्यान्वयन अधिकारीले कम्तीमा तीन महिनामा एकपटक ऐन, नियमावली र निर्देशनबमोजिम भए गरेको कामकारबाहीको प्रतिवेदन सञ्चालक समितिमा बुझाउनपर्ने व्यवस्था रहेको छ। साथै आवश्यक परेको खण्डमा संचालक समितिले समिक्षा समेत गनुपर्ने प्रावधान रहेको छ।
साथै एक प्रतिशतभन्दा बढी शेयर स्वामित्व हुने सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन र कर्मचारीलाई संस्थागत क्षमता अभिवृद्धि गर्न समेत निर्देशिकामा उल्लेख गरिएको छ।
के हो सम्पत्ति शुद्धिकरण सम्बन्धी रिर्पोटिङ ?
नेपालमा सञ्चालित हरेक बीमा कम्पनीहरुले जीवन बीमाको हकमा एक लाख रुपयाँसम्मको बीमा बीमा शुल्क र १० लाख रुपैयाँसम्मको बीमा रकम भुक्तानीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान सम्बन्धी गोएएमएल सफ्टवयरमा इन्ट्री गर्नुपर्दछ । त्यस्तै, निर्जिवन बीमाको हकमा तीन लाख रुपैयाँसम्मको बीमा शुल्क वा दावी भुक्तानीलाई यसैगरी गोएएमएल सफ्टवयरमा इन्ट्री गर्नुपर्दछ । बीमितको विवरण इन्ट्र गर्ने यही विधिलाई थ्रेसहोल्ड रिर्पोटिङ टिटिआर भनिन्छ । थ्रेस होल्ड रिपोर्टिङ नियमित प्रक्रिया हो । जुन सधैं भइरहेको हुन्छ ।
थ्रेसहोल्ड विधिमा रिर्पोटिङको क्रममा रकमधनीले सही जवाफ दिएन, चित्त बुझ्ने जवाफ दिएन वा खाता खोल्दा सामान्य पेशा तोकिएको र तर, व्यवहारमा लाखौं रुपैयाँ वित्तीय संस्थामा कारोबार गरिरहेको अवस्थामा बैंकका कर्मचारीले नै शंकास्पद कारोबार भनेर रिपोर्टिङ गर्ने गर्दछन् । बीमा क्षेत्रमा पनि हैसियत भन्दा बढि रकमको बीमा गरेमा वा आम्दानी खुल्ने कागजात बिना नै बीमा गराइएको अवस्थामा बीमा कम्पनीका कर्मचारीहरुले गोएएमएल सफ्टवयरमा त्यस्ता शंकास्पद बीमाको रिर्पोटिङ गरिएको हुन्छ । त्यसलाई सस्पेसियस ट्रान्जेक्सन रिपोर्ट (एसटिआर) भनिन्छ ।