राष्ट्र बैंकले खाता रोक्का गरेर पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीमा साढे ५५ अर्ब बढी रकम भुक्तानी
काठमाडौं । राष्ट्र बैंकले शंकास्पद कारोबार गरेको आधारमा खाता रोक्का गरेको भुक्तानी सेवा प्रदायक भुक्तानी साधन पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीको ५५ अर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ । सीआईबीको अनुसन्धानबाट दुई भुक्तानी साधनमा ५५ अर्ब माथिको रकम भुक्तानी भएको खुलेको हो ।
यी दुई भुक्तानी प्रदायक संस्थाले सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको सीआईबीले अनुसन्धानमा पत्ता लगाएको हो ।
पेवेल हालसम्म पटक पटक गरी कूल १ खर्ब २३ अर्बको भुक्तानी कारोबार गरेकोमा भौचर डिपोजिटका आधारमा ९६ अर्ब बराबरको कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ । जसका आधारमा अनुसन्धान गर्दा कम्पनीले सुन तस्करीमा भुक्तानी सहजीकरण गरेको देखिएकाले ८ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।