चिनियाँ कम्युनिस्ट पार्टी १०३ वर्षमा
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको १०३ वर्षमा पुगेको छ । सन् १९२१ जुलाई १ तारिखमा दिन अहिले चीनको सबैभन्दा विकसित र आधुनिक वाणिज्य सहर शाङहाईमा उक्त पार्टी स्थापना भएको थियो ।
वार्षिकोत्सवको अवसरमा सोमबार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सङ्गठन विभागले गरेको घोषणाअनुसार पार्टी सदस्य ९ करोड ९१ लाख ८५ हजार पुगेको जनाएको छ । सन् २०२२ को तुलनामा सदस्य सङ्ख्या ११ लाख ४४ हजारले वृद्धि भएको छ । हाल सीपीसीका ५१ लाख ७६ हजार आधारभूत सङ्गठनहरू रहेका छन् । आधारभूत तहमा पार्टी समितिको सङ्ख्या २ लाख ९८ हजार र मुख्य विभागको सङ्ख्या ३ लाख २५ हजार र शाखा विभागको सङ्ख्या ४५ लाख ५४ हजार रहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी विश्वभरको गरिबि कम गर्ने कार्यमा सक्रिय भएर लागि रहेको छ । गरिब देशहरुमा चिनियाँ कम्युनिस्ट पार्टीले आर्थिक सहयोग लामो समयदेखि गर्दै आइरहेको छ । सन् २०१२ देखि सी सत्तामा पुगेपछि करिब ९ करोड ८९ लाख ९० हजार गरिब चिनियाँ नागरिकलाई गरिबबाट मुक्त गराइएको तथ्यहरू चिनियाँ सञ्चारमाध्यमहरूले प्रसारण गरिरहेका छन् ।
चीनमा रोग लागेर उपचार गराउँदा जायजेथा सकिने र गरिबीको कुचक्रमा पिल्सिनुपर्ने भएकाले सरकारले स्वास्थ्य बिमा अनिवार्य गरिएको छ। अझ घरमुलीको बिमा अनिवार्य गर्ने र धेरैजसो रोगको उपचार तथा निःशुल्क औषधि वितरण गरेपछि गरिबी निवारणमा उल्लेख्य प्रगति भएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको नीति अनुसार चीनमा केन्द्रीय सरकार, प्रान्तीय, नगरपालिका र जिल्ला स्तरीय गरी तहहरूमा कम्युनिस्ट पार्टीबाट सञ्चालन गर्ने प्रणाली छ ।