सूर्यज्योति लाइफका विभिन्न मितिमा प्रकाशित समाचारहरूको खण्डन
काठमाडौं । सुर्यज्योति लाइफले बीमापोष्टमा विभिन्न मितिमा प्रकाशित समाचारहरूको एकमुष्ठ खण्डन गरेको छ । प्रेस काउन्सिलको मिति २०८१।०३।१० गतेको मितिमा प्राप्त पत्रसहितको खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ । साथै बीमापोष्टका सम्पादकीय टिमको आफ्ना भनाई समेत समावेश गरी प्रकाशित गरिएको छ ।
सूर्यज्योति लाइफबाट प्राप्त खण्डन
उपरोक्त सम्बन्धमा विभिन्न मितिहरुमा राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्धारा सञ्चालित बीमापोष्ट अनलाईन मिडियामार्फत फरक फरक शीर्षक राखी सुनियोजित रुपमा तथ्यहिन र भ्रामक तथा विषयबस्तु भन्दा बाहिर गई समाचारहरु सम्प्रेषण गरेको हुदा निम्न अनुसार जानकारी गराउँदछौ ।
१. जेष्ठ २१, २०८१, सोमबार १०ः०३, सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द जेष्ठ २२, २०८१, मंगलवार १०ः२१, सुर्यज्योति लाइफको एउटा निर्णयले सिंगो जीवन बीमा क्षेत्रमा बदनाम, देशैभरिका बीमा अभिकर्ताहरुको चासो ।
खण्डनः माथि उल्लेखित शिर्षकहरु संग सम्बन्धित बिषयमा नियमनकारी निकाय बीमा प्राधिकरणमा कारबाहीको प्रक्रियामा रहेको अवस्थामा र निवेदकलाई जवाफमा नै सम्पुर्ण विवरण कम्पनीले बुझाई सकेको साथै कम्पनीले सदैव आफ्ना बीमितहरुको हकहितप्रति प्रतिबद्ध रहेको र चालु आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा २ हजार ३४ वटा दाबी बापत ७३ करोड २० लाख दाबी भुक्तानी गरिसकेको हुदाहुँदै पनि उक्त मिडियाले बिषयवस्तुनै नबुझी आफूखुसी तथ्यहीन र अधारहीन तरिकाले ब्याख्यागरी समाचार बनाएको जानकारी गराउँदछौ ।
२. असार ४, २०८१, मंगलवार ०८ः४५, सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक
खण्डन: विभिन्न कम्पनिहरुले सेयर विक्री गर्दै आएको र विक्री गर्न पाउनु व्यक्ति तथा कम्पनीको मौलिक अधिकार रहेको र माथि उल्लेखित सूर्यज्योति लाइफको गतिविधि शंकास्पद लागेको भन्ने लाईन राखी प्रशारण गरिएको समाचार नियोजित र कम्पनीलाई नै बदनाम बनाउने र कम्पनीको शाखमा आँच पुर्याउने उद्देश्य राखी सम्प्रेषित गरेकोले गर्दा कम्पनीले आर्थिक तथा सामाजिक रुपमा ठुलो क्षति व्यहोर्नुपरेको जानकारी गराउँदछौ ।
३. असार ४, २०८१, मंगलवार १६ः४४, निरन्तर घट्दो क्रममा सूर्यज्योति लाइफको शेयर मूल्य
खण्डन: निरन्तर ३ दिन देखि ओरालो लागेको शेयर बजारमा उक्त दिन ३१८ कम्पनिहरु मध्ये २३४ कम्पनीहरुको शेयर मुल्यमा गिरावट भएकोमा सोहि दिन सूर्यज्योतिको शेयर मुल्य घट्ने क्रममा शिर्षक राखी समाचार बनाउनुको उद्देश्य नियोजित तवरले असार महिना बीमा व्यबसायको हिसाबले महत्वपुर्ण महिना रहेको र सोही महिना यस किसिमका सिलसिलेवार तथ्यहीन समाचार सम्प्रेषित गर्नाले कम्पनीलाई आर्थिक रुपमा करोडौको क्षति भएको व्यहोरा पनि जानकारी गराउँदछौ ।
साथै भोलि पल्ट ५ असार २०८१, बुधबार १२ः३५ नै उक्त मिडियाले शेयर बजारमा संकुचन देखिदा राज्यले गुमाउँदै करोडौं राजस्व, के नीतिगत अस्थिरता नै बाधक हो ? भन्ने शिर्षक राखी समाचार बनाउनुको अर्थ निज मिडियालाई बजारको ओरालो र बर्तमान नेगेटिभ अवस्थाको ज्ञान भएको र नियतवस सूर्यज्योतिको पछि एकहोरो लाग्नु अर्थ केहि निहित स्वार्थ र उदेश्य रहेको जानकारी पनि पुन गराउँन चाहान्छौं ।
४. असार ५, २०८१, बुधबार ०६ः३६, सुर्यज्योति लाइफका संस्थापक धनीहरु धमाधम शेयर बिक्री गर्दै, थप पाँच लाख कित्ता शेयर बिक्रीमा
खण्डनः कम्पनिको शेयर बिक्री वितरण गर्न पाउने निहित हक अधिकार रहेको र हाल मात्रै विभिन्न कम्पनीहरुले पनि सुचना निकाली बिक्रीमा राखेको बिदितै छ । तर नियतवस सिलसिलेवार तरिकाले सूर्यज्योति लाइफको आम बीमित र नागरिकमा भएको छविमा तुषारापात गर्न लागिपरेको ठानेका छौ । साथै यहि समाचारमा व्यक्तिगत रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्रीलाई नै लक्षित गरि निजको मान मर्यादा र इज्जतमा आघात पुर्याउने हेतुले तथ्यहीन समाचार प्रसारण गरेको जानकारी गराउँदछौ ।
तसर्थ यी विभिन्न शिर्षक राखी सूर्यज्योति लाइफको बिरुद्धमा लागि कपोलकलपित, भ्रामक, आधारहीन र बिषयबस्तु भन्दा बाहिर गई समाचारको दुरुपयोग गरेको तथा प्रशारित समाचारहरु तथ्यहीन भएको कुरा प्रस्ट पार्न चाहान्छौं । beemapost.com को फेसबुकपेज र विभिन्न सामाजिक संजालका ग्रुपमा शेयर गरि सूर्यज्योति लाइफको छवि र प्रतिष्ठामा आघात पुर्याउने हेतुले नियतवश लागि परेको पनि ठानेकाछौं ।
तर्सथ, यस किसिमका सिलसिलेवार तथ्यहीन समाचारहरुले कम्पनीसँग आवद्ध बीमित, अभिकर्ता, शेयरधनि तथा कर्मचारी लगाएत सामुदायमा नै नकरात्मक प्रभाव पर्ने र कम्पनीमा ठुलो आर्थिक, सामाजिक, नैतिक प्रभाव परेको हुँदा सो को सम्पुर्ण क्षतिको जवाफदेहीता सम्बन्धित सञ्चार माध्यामले लिनुपर्ने माग सहित जस्ताको तस्तै खण्डन सम्प्रेषित गरीदिनुहुनका लागि लागि यो निवेदन पेश गरेकाछौं ।
भवदीय,
मेघेन्द्र प्रकाश गिरी
चिफ कम्युनिकेशन एण्ड ब्राण्डिङ्ग
बीमापोष्टको भनाईः
सूर्यज्योति लाइफका सम्बन्धमा बीमापोष्टले एकोहोरो समाचार प्रकाशित गर्दै आएको कुरा असत्य र झूटो हो । बीमापोष्ट व्यावसायिक रूपमा सञ्चालित निष्पक्ष अनलाईन सञ्चार माध्यम (प्रेस) हो । बीमापोष्टले समाचार प्रकाशित गर्दा कसैलाई पक्षपात गर्दैन । बीमापोष्टमा सकारात्मक र नकारात्मक दुबैखालका समाचार प्रकाशित हुँदै आएका छन् । यस खण्डनमा सूर्यज्योति लाइफद्वारा नकारात्मक समाचार मात्रै प्रकाशित गरेको झूटो आरोप लगाइएकाले निम्न सकारात्मक समाचारहरूलाई पनि हामीले स्थान दिएको तथ्य प्रस्तुत गर्न चाहन्छौं ।
सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा सम्पन्न, ३५ प्रतिशत लाभांश पारित
वैदेशिक रोजगारमा ज्यान गुमाएका लिम्बुको परिवारलाई सूर्यज्योति लाइफको १४ लाख दावी भुक्तानी
सूर्यज्योति लाइफद्वारा १० महिनामा करिव ६७ करोड रुपैयाँको दावी भुक्तानी
सुर्यज्योतिद्वारा नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ४० देखि अधिकतम ९० रूपैयाँ बोनस पाउने
सुर्यज्योति लाइफ कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न, ७ सदस्य नयाँ कमिटि गठन
सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६औं वार्षिकोत्सव
सूर्यज्योति लाइफको नाफा ३३% बढ्यो, कस्ता छन् अन्य सूचक?
सूर्यज्योति लाइफ र गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार
सूर्यज्योति लाइफबाट प्राप्त खण्डन प्रकाशनयोग्य छैन । तर पनि बीमापोष्टको सम्पादकीय नीति, ‘प्रेसको आधारभूत सिद्धान्त र मूल्य मान्यता अनुसार पीडितलाई आफ्नो भनाई राख्न दिनुपर्दछ भन्ने उद्देश्यले सम्बन्धित पक्षको लिखित भनाई जस्ताको तस्तै प्रकाशित गरेका हौं ।
सूर्यज्योति लाइफले बीमितको हित विपरीत हुने गरी र बीमाको सारभूत सिद्धान्तको समेत बर्खिलाप हुने गरी मिति २०७९ चैत्र १५ गते च.न. १७६८/०७९–०८० को पत्रद्धारा बीमित सतियादेवी कलवारिनको निधन भएको नौं महिनापछि बीमितको बीमापोलिसी रद्द गर्ने निर्णय भएको पत्र पीडितमार्फत न्यायको अभिलाषासहित बीमापोष्टमा प्राप्त भएपछि सो सम्बन्धमा समाचार प्रकाशित भएको हो । इमान्दारपूर्वक नैतिकताको कसीमा, बीमाको आधारभूत सिद्धान्तमाथि उभिएर सोचौं त, एउटा व्यावसायिक बीमा प्रशासकले बीमितको निधन भएको आठ महिनापछि बीमापोलिसी रद्द भयो भनेर बीमा दावी भुक्तानी नदिन मिल्छ ? पाइन्छ ? न्यायसंगत हुन्छ ? यदि त्यसो गर्ने हो भने भोलिका दिनमा कुन मुख देखाएर सूर्यज्योति लाइफका कर्मचारी र बीमा अभिकर्ताहरू बीमित समक्ष बीमा व्यवसायको प्रस्ताव लिएर जाने ? सूर्यज्योति मात्रै नभएर अन्य बीमा कम्पनीहरूमा पनि यस्तै हुन्छ भनेर आम बीमितको चासो र चिन्ता बढीरहेको छ । भोलिका दिनमा यस्ता घटनाले सिंगो बीमा जगत बद्नाम र तिरस्कृत हुनेतर्फ सूर्यज्योति लाइफका सञ्चालक समितिको समेत ध्यानाकर्षण हुनु आवश्यक छ ।
शेयर बिक्री नियमित प्रक्रिया हो । बिक्रीमा राखिएको सूचना सहित समाचार प्रकाशित भएकाले थप प्रष्टीकरण आवश्यक छैन । एनआईसी एसिया बैंकको शेयर बिक्रीमा राखिएको भोलिपल्ट अर्को पनि शेयर बिक्रीमा आएपछि धमाधम भन्ने शब्द प्रयोग गरिएको हो । हरेक समाचारको खण्डन गर्ने अधिकार समाचारमा आरोप लगाइएको पक्षसँग सुरक्षित हुने भएपनि प्रमाणसहितका समाचारको खण्डनको कुनै अर्थ नहुने हुँदा हाम्रो थप प्रष्टीकरण आवश्यक देखिएन ।