विपन्न वर्गमा जाने कर्जा घटाउँदै विकास बैंक
काठमाडौं । विकास बैंकहरूले विपन्न वर्गहरूमा जाने कर्जा घटाएका छन् । राष्ट्रबैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कूल कर्जाको पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने प्रावधान रहेको छ । वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूले विपन्न वर्गमा गरेको कर्जा प्रवाह स्थिर रहेपनि विकास बैंकहरूले भने अघोषित रूपमा कर्जा प्रवाह घटाएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूले २५ प्रतिशत आफैँ र ७५ प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गर्दै आएका छन् । चालु आर्थिक वर्ष (आव)को १० महिनामा विकास बैंकहरूले जम्मा चार खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये ३० अर्ब २९ करोड ५० लाख रुपैयाँ अर्थात् ८.६३ प्रतिशत विपन्न वर्गमा कर्जा प्रवाह गरेका छन् । यो कर्जा एक वर्षअघिको तुलनामा दुई अर्ब २९ करोड ६० लाख रुपैयाँ अर्थात् ३.४८ प्रतिशतले कम हो । गत आवको १० महिनामा विकास बैंकहरूले जम्मा चार खर्ब ६२ अर्ब नौं करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सोमध्ये लघुवित्त संस्थामार्फत ४२ अर्ब ५९ करोड १० लाख रुपैयाँ अर्थात् १२.११ प्रतिशत कर्जा प्रवाह गरेका थिए ।
तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूले गत वैशाख मसान्तसम्म ४५ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये दुई खर्ब ६४ अर्ब २५ करोड ४० लाख रुपैयाँ अर्थात् ६.६३ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए । जुन गत आवको सोही अवधिको तुलनामा एक खर्ब ७४ करोड ६० लाख अर्थात् ०.३१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले जम्मा ४३ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सोमध्ये दुई खर्ब ६२ अर्ब ५० करोड रुपैयाँ अर्थात् ६.४३ प्रतिशत विपन्न वर्गमा कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले चालु आवको समीक्षा अवधिसम्म जम्मा ९८ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सोमध्ये ६ अर्ब ६१ करोड रुपैयाँ अर्थात् ७.११ प्रतिशत विपन्न वर्गमा कर्जा प्रवाह गरेका थिए । जुन गत आवको सोही अवधिको तुलनामा एक अर्ब रुपैयाँ अर्थात् ०.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूले जम्मा ९२ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सोमध्ये पाँच अर्ब ६१ करोड अर्थात् ७.५२ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
चालु आवको १० महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलगायतका सबै वित्तीय संस्थाहरूले विपन्न वर्गमा तीन खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकाा छन् । जुन गत आवको सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँले बढी हो । गत आवको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले तीन खर्ब १० अर्ब ७० करोड रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।