नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै खारेज हुने ! महान्यायाधिवक्ताको पत्रले झनै अप्ठेरो

११ असार २०८१, मंगलवार ११:३६

काठमाडौं । सरकारले राय सुझाव माग गरेको महान्यायाधिवक्ताको कार्यालयले अर्थमन्त्रालयको पत्रको जवाफ दिएको छ । अर्थलाई दिएको जवाफमा दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएसँगै अध्यक्ष छनौट समिति झनै अप्ठेरोमा परेको छ । अब छनौट समिति समक्ष उक्त प्रक्रिया नै खारेज गरेर नयाँ प्रक्रिया सुरु गर्ने वा के गर्ने भन्ने अन्योलमा फस्न पुगेको छ ।

अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठसहितको कार्यदलले विधि र प्रक्रिया अनुसार सेबोनमा अध्यक्ष सिफारिस गर्न नसक्ने भएपछि थप अप्ठेरोमा पर्न गएको हो । स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने लिखित सुझाव दिएसँगै प्रक्रिया खारेज गर्ने वा मौखिक परिक्षामा सहभागी नभएका व्यक्तिलाई जबरजस्ती सहभागी गराएर सिफारिस गर्ने बाटो मात्रै बाँकी छ ।

पाँच जना सर्टलिष्ट भएका मध्ये तीन जना प्रस्तुतिकरणमा नै सहभागी भएनन् । डा. नबराज अधिकारी, चिरञ्जीवी चापागाई र कृष्ण बहादुर कार्कीले मौखिक परिक्षा बहिस्कार गरेका थिए । धितोपत्र बोर्डको अध्यक्षमा परिक्षा अगावै अध्यक्षका उम्मेदवार एकिन गरिएकोले उनीहरुले परिक्षा बहिस्कार गरेका थिए । मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले मात्रै मौखिक परिक्षा दिएका थिए । तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा दुई जना मात्रै परिक्षामा सहभागी भएपछि अध्यक्ष छनौट समितिलाई अप्ठेरो परेको हो ।

महान्यायाधिवक्ताको कार्यालयको पत्र आइसकेकोले सम्भवतः आजै साँझ कार्यदलको बैठक बसेर खारेज गर्ने वा बलपूर्वक नाम सिफारिस गर्ने सम्बन्धमा निर्णय हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । एक अर्को स्रोतले भने सर्टलिष्टमा परेका पाँचै जनाको नाम सिफारिस पनि हुनसक्ने जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*