लुम्बिनी प्रदेशमा कृषि सहकारी तथा लघु बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

११ असार २०८१, मंगलवार ११:२१

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले कृषि सहकारी संस्थाहरुसंग कृषि तथा लघु बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले लुम्बिनी प्रदेशमा रहेका लघु तथा कृषि बीमा सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख पूर्ण बहादुर थापा रहेका थिए । साथै, कार्यक्रममा प्रमुख अतिथिको रुपमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.प्रवेश सिँह कुवर तथा अतिथिमा भुवन क्षेत्री लगायत अन्य मानिसहरुको बाक्लो उपस्थिती रहको थियो ।

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक मो. दिल्दार अंसारीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए । सैनामैना नगरपालिकामा रहेका कृषि सहकारी संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । प्राधिकरणको आयोजनामा बोलबम दुग्ध सहकारी संस्थाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सभापति तथा बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले बीमा प्राधिकरणको परिचय, प्राधिकरणको संचालक समिती सम्बन्धी व्यवस्था, प्राधिकरणको प्रमुख कार्यक्षेत्र, बीमा, जोखिम र उपाय, बीमाको महत्व र प्रकार लगायतका कुरामा स्पस्ट पारेका थिए ।

कृषि तथा लघु बीमा सम्बन्धी अन्तरकृया कार्यक्रममा उठाएका समस्या तथा जिज्ञासा

–पशुपन्छीको वास्तविक मूल्य र बीमांक कायम गर्ने मूल्यमा कम्पनी अनुसार फरक देखिएको
–जनावरको लागि समयमै खोपको ब्यवस्था नहुँदा बीमा गराउन समस्या रहेको
–बीमकले कृषि तथा पशुपन्छी बीमा गर्न नमानेको जसको कारणले कृषकहरु मारमा परेको ।
–बीमा कम्पनीले बीमा गर्न स्थगित गर्दा कृषि तथा पशुपन्छीको बीमा नहुनाले त्यस्तो अवस्थामा कृषकको कृषि तथा पशुपन्छीको हानि नोक्सानी भयो भने कसले वहन गर्ने ।
–बीमा कम्पनीले समयमै दावी भुक्तानी नदिएको ।
–बीमा सजिलै गर्ने तर दावी भुक्तानीको प्रकृया जटिल रहेको ।
–कोरोना बीमाको दावी रकम अहिलेसम्म पनि भुक्तानी नपाएको ।
–प्राधिकरणले सरल र सुलभ तरिकाले बीमा दावी भुक्तानी पाउने खालका सम्बन्धी व्यवस्था लागू गर्नुपर्ने ।
–बीमा प्राधिकरणले बीमा कम्पनीलाई प्रभावकारी रुपमा नियमन गर्नु पर्ने ।
–सहकारी आफैले कृषि तथा पशुपन्छी बीमा गर्न पाउने ब्यवस्था ल्याउनु पर्ने ।
–कृषि बीमा आजको अवश्यकता हो तर कृषि बीमा गर्न कृषकले बीमा कम्पनी खोज्नु पर्ने बाध्यता भएको ।
–बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कन कर्तालाई बीमा सेवा तथा दावी पर्दा सहयोग गर्न आग्रह गरेको ।
–बीमा प्राधिकरणले जारी गरेको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिकालाई समय सापेक्ष परिमार्जन गर्नु पर्ने ।

अन्तमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले उठेको समस्या तथा जिज्ञासाहरुको उत्तर दिंदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*