जेठ महिनामा निर्जीवन बीमा ब्यवसाय ह्वातै बढ्यो, सिद्धार्थ प्रिमियर नम्बर १ मा, अन्यको अवस्था कस्तो ?

१० असार २०८१, सोमबार १८:५६

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ह्वातै बढेको छ । पछिल्लो समय मर्जरमा गएकाहरुले व्यवसाय वृद्धिमा प्रतिस्प्रर्धा गरिरहेका छन् ।

बीमा प्राधिकरणका अनुसार बैशाख महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २०.०९ प्रतिशतले बढेको छ । बैशाख महिनामा २ अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा तीन अर्ब ४५ करोड रुपैयाँको कारोबार गर्न सफल भएका छन् ।

सबैभन्दा उत्कृष्ट कम्पनीका रुपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स देखिएको छ । उक्त कम्पनीले जेठ महिनामा मात्रै ४८ करोड १३ लाख रुपयाँको व्यवसाय गरेर उत्कृष्ट बनेको हो । साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४० करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेको छ । जेठ महिनाको व्यापारको सन्दर्भमा सलिको दोस्रो स्थानमा रहेको छ ।

जेठ महिनामा शिखर इन्स्योरेन्सले ३५ करोड ५५ लाख रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीले बैशाख महिनामा ३१ करोड ५६ लाख रुपैयाँको व्यवसाय गरेको थियो । जून बैशाख महिनाको तुलनामा १२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, आईजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले ३२ करोड २४ लाख रुपैयाँको बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको उक्त व्यवसाय बैशाख महिनाको तुलनामा ३० प्रतिशतले बढेको छ । साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले जेठ महिनामा ३० करोड ५४ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

बैशाख महिनाको तुलनामा सानिमा जिआईसी इन्स्योरेन्सको व्यवसाय ६४ प्रतिशतले बढेको छ । कम्पनीले बैशाख महिनामा १६ करोड ४३ लाख रुपैयाँको व्यवसाय गर्दा जेठ महिनामा चाँही २७ करोड ३ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय बैशाखको तुलनामा सबैभन्दा बढी प्रतिशतले बढेको छ । कम्पनीले बैशाखको तुलनामा व्यवसाय ४६९ प्रतिशतले वृद्धि भएर तीन करोड ३६ लाख रुपैयाँबाट जेठ महिनामा १९ करोड १४ लाख रुपैयाँको कारोबार गर्न सफल भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले जेठ महिनामा २३ करोड ६५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २२ करोड १८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड ८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १४ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले १२ करोड ८ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*