राष्ट्रिय बीमा कम्पनीको नाफा ह्वात्तै घट्यो, ६३ करोडबाट ३६ करोडमा झर्नुमा यस्तो छ कारण

१ भाद्र २०७८, मंगलवार ०८:५१

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको मुनाफा उच्च अंकले गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानीमा भारी गिरावट आएसँगै कम्पनीको मुनाफा प्रभावित भएको हो । साढे पाँच अर्ब रुपैयाँ भन्दा ठूलो कोष भएको कम्पनीले बैंकहरुबाट मुद्दति निक्षेपमा पाउने ब्याजमा भारी मात्रामा गिरावट आएसँगै मुनाफा प्रभावित भएको हो ।

कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा गत आर्थिक वर्षको अघिल्लो समीक्षा अवधीसँग ४३.५७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६३ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा घटेर ३६ करोड तीन लाख २८ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।

सरकारी लगानीको कम्पनीमा मुनाफा उच्च अंकले घटेको हो । धितोपत्र बजारमा राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य कृत्तिक कारोबार गरेर अस्वाभाविक रुपमा उच्च बिन्दुमा पर्याएको आरोप लाग्दै गर्दा कम्पनीको मुनाफा भारी अंकले घटेपछि आजदेखि बजारमा के होला ? भन्ने कौतुहलता जाग्ने देखिएको छ ।

कम्पनीको बीमाको व्यवसाय घटेको छैन । कम्पनीको खुद बीमा शुल्क आय सामान्य अंकले बढेर २२ अर्ब ४५ करोड ७३ लाखबाट बढेर २२ करोड ६९ लाख ९५ हजार पुगेको छ । साथै व्यवस्थापन खर्च समेत घटाएका कारण ठूलो रकम घाटा हुनबाट जोगिएको छ । कम्पनीको व्यवस्थापन खर्च ६.८० प्रतिशतले घटेर १८ करोडबाट १७ करोड ८३ लाखमा झरेको छ ।

कम्पनीको लगानी तथा अन्य आयबाट हुने आम्दानी ३४.४३ अंकले घटेको छ । अघिल्लो आवमा ७२ करोड ३९ लाख रुपैयाँ कमाएको कम्पनीले गत आवमा ४७ करोड ४६ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बक्यौता कूल दावी भुक्तानी देखाएको छैन । बीमा समितिको नियम अनुसार वित्तीय विवरणमा कूल भुक्तानी हुन बाँकी दावी भुक्तानी समेत प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी १३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५९.८४, प्रतिशेयर नेटवर्थ १२८०.८१ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २१९२.२३ रुपैयाँ रहेको छ ।

राष्ट्रिय बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानबाट २०७१ सालमा छुट्टिएर नयाँ कम्पनी बनेको हो । संस्थानले निर्जिवन बीमा कोषमा राखेको रकमसहित हालको राष्ट्रिय बीमा कम्पनीको कोषमा आएकोले कम्पनीसँग ठूलो मात्रामा कोष रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*