फाइनान्सको शेयरमा दिनप्रति दिन उछाल, वित्तीय सूचक नाजुक कम्पनीलाई माफियाले चलाएका हुन् ?
काठमाडौँ । पुँजी बजार कहिले घट्ने र कहिले बढ्ने स्वाभाविक प्रवृत्ति हो । पछिल्लो केही समय यता शेयर बजारले अपेक्षित लय समाउन सकेको छैन । मार्केट ओरालो तिर लम्की रहेको भए पनि लगानीकर्ता भने कहिले कुन समूह त कहिले कुन समूहमा झुम्मिएको देखिन्छ ।
सामान्यतया घाटामा रहेका कम्पनीको शेयर मूल्य पनि कम हुने अपेक्षा आम लगानीकर्ताहरूले गर्दछन् । तर, कम्पनी घाटामा रहेको वित्तीय विवरण सार्वजनिक भए पनि केही संस्थाको शेयर मूल्यमा दिनदिनै उछाल आएको देखिन्छ । फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचक धरापमा रहेका छन् । सङ्कटमा रहेको वित्तीय सूचक सार्वजनिक गर्दा समेत फाइनान्सको शेयरमा निरन्तर उछाल आइरहेको छ ।
पछिल्ला दिनमा समग्र शेयर बजार ओरालो लाग्दा समेत फाइनान्स समूहको शेयरमा उच्च सुधार भएको नेपाल स्टक एक्सचेन्जले देखाएको छ । फाइनान्स कम्पनीको उच्च मूल्य भएका कम्पनीहरू लाभांश दिन सक्ने अवस्थामा नै छैनन् । न्यून चुक्ता पुँजी र नकारात्मक प्रति शेयर आम्दानी भएका फाइनान्समा लगानीकर्ताको आकर्षणलाई बजारमा फरक फरक धारहरूले विश्लेषण भइरहेका छन् ।
कुनको कति छ शेयर मूल्य ?
फाइनान्स कम्पनी मध्य सबैभन्दा धेरै शेयर मूल्य नेपाल फाइनान्सको रहेको छ । वित्तीय सूचकमा बिजोक अवस्था रहेको फाइनान्स पछिल्ला दिनमा सकारात्मक सर्किट लागि रहेको छ । यस दिनसम्म कम्पनीको शेयर मूल्य ८३६.४० रुपैयाँ पुगेको छ । आइतबार पनि कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो ।
धेरै शेयर मूल्य हुने फाइनान्समा गोर्खाज दोस्रो नम्बरमा रहेको छ । कम्पनीको शेयर ०.७९ प्रतिशतले बढेर ७८१ रुपैयाँ पुगेको छ ।
साथै, पोखरा फाइनान्सको ६६२.९ रुपैयाँ, गुडबिल फाइनान्सको ५८०.३ रुपैयाँ, जानकी फाइनान्सको ५७० रुपैयाँ, आइसिएफसि फाइनान्सको ५५८.२ रुपैयाँ, मञ्जुश्री फाइनान्सको ५४१ रुपैयाँ शेयर रहेको छ ।
शेयर मूल्य बढ्नुमा दुई धार
फाइनान्सको शेयर मूल्य निरन्तर बढ्दा जानकारहरुनै दुई धार हुन थालेका छन् । कसैले शेयर मूल्य बढ्नुलाई माफियाहरूको चलखेल भनी रहेका छन् भने कतिले साइडवेज मार्केटमा आधारभूत रूपमा कमजोर भए पनि थोरै पुँजीले चलाउने कम्पनी मात्रै चल्ने गरेकाले त्यस्तै कम्पनीको शेयरमा आकर्षण बताउँछन् ।
वित्तीय सूचकमा खराब अवस्थामा रहेको फाइनान्समा सकारात्मक सर्किट लाग्नु भनेको चलखेल रहेको एक ब्रोकरले बताए । उनले भने, ‘फाइनान्सका लगानी गर्नु पर्ने कुनै कारण नै छैन । अधिकांश सूचक खुम्चिएका छन् । यस्तो बेला शेयर बजार बढ्नु भनेको केही सीमित व्यक्तिले चलखेल गरेको हुन सक्छ ।’
कम पुँजी र कम संख्या रहेका कम्पनीको शेयर समूह नै बनाएर खरीद गर्ने प्रवृत्ति केही लगानीकर्तामा देखिएका कारण केही घाटामै रहेका कम्पनीको शेयरको मूल्य बढी रहेको देखिएको एक लगानीकर्ताले भने । ‘शेयर बढ्ने घट्ने हुनु सामान्य कुरा हो । कसैको लगानी डुब्छ कसैले कमाउँछन् । लामो समय लाभांश दिने अवस्थामा नभएका कम्पनीको शेयर मूल्य के कारणले बढ्यो हो रु यो प्रष्ट छ केही सीमित ठुला लगानीकर्ताले फाइनान्स सेक्टर चलाइरहेका छन्’ उनले भने ।
लगानीकर्ताले लगानी गर्नु पूर्वक कम्पनीको अध्ययन र वित्तीय सूचक हेरेर मात्र लगानी गर्ने उनले आग्रह गरे ।